बाघको आक्रमणबाट सल्यानमा फेरि एक पुरुषको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका– ६, हात्तीढुंगाका ६५ वर्षीय चन्द्रबहादुर खप्तडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सोमबार दिउँसो घरदेखि करिब तीन सय मिटर टाढा घट्टमा पिठो पिस्न गएका खप्तडी घर नफर्किएपछि बाघले आक्रमण गरेको हुन सक्ने भन्दै मंगलबार स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
प्रहरी, स्थानीय र बाँके राष्ट्रिय निकुञ्ज सुरक्षा पोस्टबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा मंगलबार दिउँसो आधा शरीर खाएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघले यही पुस २५ गते कालीमाटी गाउँपालिका– ७, पर्सेनीकी ४२ वर्षीया धनसरी रावतलाई आक्रमण गर्दा मृत्यु भएको थियो । एक हप्ताको बिचमा बाघको आक्रमणबाट दुईजनाको मृत्यु भएपछि कालीमाटी गाउँपालिका– ६ र ७ का स्थानीय त्रसित बनेका छन् ।