पत्रकार धरपकड गर्न प्रहरी कसले पठायो ?

हेडक्वार्टर भन्छ, ‘जानकारी छैन’, प्रधानमन्त्री सचिवालयको उम्किने वक्तव्य

शनिबार, १४ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- समाचारकक्षमा प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्न खोज्ने प्रहरी ज्यादतीबारे प्रहरी हेडक्वार्टरले जानकारी नभएको फितलो जवाफ दिएको छ भने प्रधानमन्त्री सचिवालय उम्किने प्रयासमा छ । प्रहरीले पत्रकार धरपकडबारे जानकारी नभएको भन्नु र प्रधानमन्त्री सचिवालय पनि यसबाट पन्छिनुले यो घटना कसको निर्देशन र निर्णयमा भएको छ भन्ने विषयमा द्विविधा उत्पन्न भएको छ ।

नयाँ पत्रिकामा सादा पोसाकका प्रहरी प्रवेश गरेर पत्रकार नवराज मैनालीलाई पक्राउ गर्ने अधिकतम प्रयास भएको थियो । यसबारे नयाँ पत्रिकाले प्रहरी प्रधान कार्यालयसँग जिज्ञासा राखेको थियो । नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले नयाँ पत्रिकाको कार्यालयमा प्रहरी पठाइएको विषयमा जानकारी नभएको बताएका छन् ।

सादा पोसाकमा समाचारकक्षबाटै पक्राउको प्रयास गरेको विषयमा नयाँ पत्रिकाले गरेको प्रश्नमा डिआइजी काफ्लेले आफूलाई जानकारी नभएको भन्दै महाशाखामै बुझ्न आग्रह गरे । साढे ६ बजे नयाँ पत्रिकाले काफ्लेसँग प्रश्न गर्दा उनले भने, ‘मलाई त्यस विषयमा जानकारी छैन । अहिलेलाई अपराध महाशाखामै बुझ्दा राम्रो होला । म विषय बुझेर मात्र भन्न सक्छु ।’

यता प्रधानमन्त्री सचिवालय पनि घटनाको जिम्मेवारी लिनबाट पन्छिएको छ । ‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारीसमेत प्राप्त नभएको स्पष्ट पारिन्छ,’ प्रधानमन्त्री सचिवालयमा मिडिया व्यवस्थापन संयोजक दीपा दाहालले फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचारकक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको छ ।’ 

सुझावित समाचार