राष्ट्रिय तथ्यांक कार्यालयले पहिलोपटक तयार पारेको ‘नेसनल ट्रान्सफर एकाउन्ट’सम्बन्धी प्रतिवेदनले देशको खर्च अवस्थाको समग्र अवस्था कस्तो देखाउँछ ?
२७ वर्षदेखि ४६ वर्षबिचको उमेर समूहको मात्र खर्चभन्दा आम्दानी बढी छ । यो उमेर समूह मात्र बचत गर्न सक्षम देखिन्छ । समग्र जनसंख्यामा २६ वर्ष उमेरसम्म आर्थिक निर्भरता उच्च देखिन्छ । ४७ वर्षपछि फेरि पनि आम्दानीभन्दा खर्च बढी देखिन्छ । २७ वर्षदेखि ४६ वर्षसम्मको सानो उमेर समूहको काँधमा बालबालिका र बयोवृद्ध दुवैको खर्चको बोझ छ । अहिलेको प्रतिवेदनअनुसार नेपालमा सरकारले शिक्षामा लगानी बढाउनुपर्ने पनि देखाएको छ । स्वास्थ्यमा अहिले व्यक्तिको भन्दा सरकारको लगानी बढी छ । तर, शिक्षामा भने व्यक्तिले राज्यले भन्दा धेरै लगानी गरिरहेको छ । यसले गर्दा व्यक्तिको आयको ठुलो हिस्सा शिक्षामा खर्च भइरहेको छ ।
आम्दानी बचत गर्न सक्ने उमेर समूह अन्य देशको तुलनामा निकै सानो देखियो ? यसलाई बढाउन के गर्नुपर्छ ?
आम्दानी बढाउन मुख्यतः युवा जनशक्तिको सीप वृद्धिमा जोड दिनुपर्छ । त्यस्तै, नेपालमा अनौपचारिक क्षेत्रको बाहुल्य छ, जुन क्षेत्रमा ज्याला कम छ । त्यस्तै लिंगका आधारमा पनि ज्यालामा विभेद छ । यी विभेदलाई सम्बोधन गर्ने नीति ल्याउनुपर्छ । देशमा उत्पादनशील रोजगारीको अभाव छ । नेपाल अझै जनसांख्यिक लाभमै रहेको अवस्थामा उत्पादकत्व बढाउनु र थप उमेर समूहको आय बढाउन ध्यान केन्द्रित गर्नुपर्छ । हामीलाई अब २५ वर्ष मात्रै जनसांख्यिक लाभको अवसर छ । जनसंख्यामा बुढ्यौली समूहको हिस्सा बढ्न थालेपछि स्वास्थ्य खर्च बढ्छ । सामाजिक सुरक्षाको खर्च बढ्दा विकास खर्च घट्न थाल्छ ।
आम्दानीभन्दा खर्च बढी भइरहेको भए, त्यो अतिरिक्त खर्चको परिपूर्ति कसरी भइरहेको छ ?
यसमा मुख्यतः थोरै उमेर समूहको आयले भरथेग गरिरहेको छ । पछिल्लो समय विदेशबाट आउने रेमिट्यान्स निकै बढेको छ । हरेक परिवारमा विदेश नगएका सदस्य भेटिँदैनन् । विदेशबाट आएको रकम शिक्षा, स्वास्थ्यदेखि लत्ताकपडा, विलासीका सामानसम्ममा खर्च भइरहेको छ ।