कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीलाई ३ प्रश्न

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

महाधिवेशन प्रतिनिधिहरूबाटै विशेष महाधिवेशन आह्वान भयो । यसले वैधानिकता पाउँछ त ? 
लोकतन्त्रमा पार्टी विधानको सर्वोच्चता व्यक्तिभन्दा माथि हुन्छ । त्यसकारण विधानलाई स्थापित गरी त्यसको सर्वोच्चता कायम गर्न र कांग्रेसको लामो इतिहास जोगाउन विशेष महाधिवेशन आयोजना गरिएको हो । योभन्दा ठुलो न पार्टी सभापति, न पार्टी पदाधिकारी न केन्द्रीय समितिको बहुमत नै हुन्छ । हाम्रो पार्टीको विधानअनुसार सबैभन्दा ठुला महाधिवेशन प्रतिनिधि हुन् । उनीहरू केन्द्रीय समिति र महाधिवेशनका जन्मदाता हुन् । त्यसैले, वैधानिक रूपमै साढे ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिका तर्फबाट सिधै विशेष महाधिवेशन आह्वान भएको हो । 

विशेष महाधिवेशनको औचित्य छैन भन्दै संस्थापन पक्षले सहभागी नहुन चेतावनी दिएको छ नि ? 
पार्टी विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन सक्ने वैधानिक व्यवस्था छ । पार्टी नेतृत्वमाथि प्रश्न खडा भयो, महाधिवेशन प्रतिनिधिले अविश्वास गरे वा सभापतिले राजीनामा दिनुभयो भने त्यो वेला नेतृत्व परिवर्तन गर्ने र राजनीतिक एजेन्डामा बहस गर्ने थलो हो, विशेष महाधिवेशन । त्यसकारण विशेष महाधिवेशन रोक्ने अधिकार कसैलाई छैन । आफ्नो जन्मदाता संस्थाले गरेको निर्णय नमान्नु लोकतान्त्रिक आचरण र चरित्र होइन । कि कांग्रेसभित्र लोकतान्त्रिक चरित्र, लोकतान्त्रिक आत्मा र विधानको सर्वोच्चतालाई भन्दा व्यक्तिको सर्वोच्चतालाई मान्नुपर्ने हो ? 

दुवै पक्षले अडान कायम राख्दा पार्टी त विभाजनतर्फ जाने भयो नि, होइन ? 
बहुमतले कहिल्यै पार्टी विभाजन गर्दैन । बहुमतले आफ्नो बाटो तय गरेर जान्छ । केन्द्रीय समितिको बहुमतभन्दा महासमितिको बहुमत ठुलो हो, महासमितिको बहुमतभन्दा महाधिवेशनको बहुमत ठुलो हो । अहिले विशेष महाधिवेशन पक्षधरले नयाँ नीति, नयाँ विचार, दृष्टिकोण र नयाँ नेतृत्व खोजेका हुन् । जेनजी पुस्ताले पनि त्यही खोजेका छन् । हामीले कांग्रेसलाई विघटनको बाटोबाट जोगाउन विशेष महाधिवेशन भनेका हौँ । तर, त्यो बाटामा हिँड्दै गर्दा जुन विभाजनको आरोप लागेको छ, हामी विष पिएरै भए पनि विघटन र विभाजनको बाटोबाट पार्टीलाई जोगाउँछौँ । 

सुझावित समाचार