पेट्रोलियमविज्ञ सुशील भट्टराईलाई ३ प्रश्न

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण कत्तिको चुनौतीपूर्ण हुन्छ ?
विश्वमा अहिले धेरै देशले इथानोल मिश्रण भएको पेट्रोल प्रयोगमा ल्याइरहेका छन् । नेपालले इन्धन खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसनले समेत इथानोल मिश्रण गरेको पेट्रोल भारतीय बजारमा बिक्री गरिरहेको छ । त्यसैले, नेपालमा पनि यसलाई प्रयोगमा ल्याउन सकिन्छ । तर, यसको गुणस्तरको सुनिश्चितता हुनुपर्छ ।

अहिलेकै पेट्रोलको गुणस्तरमा वेलावेला प्रश्न आउँछ । इथानोल मिश्रण गर्दा उपभोक्ताले दु:ख पाउने त होइनन् ?
सरकारले इथानोल मिश्रण गरेको पेट्रोल गुणस्तरका हिसाबले कुनै कमजोर हुँदैन भन्ने कुराको ग्यारेन्टी गरेर प्रचलनमा ल्याउनुपर्छ । उपभोक्तालाई ढुक्क पार्न इथानोल मिश्रणबारे सचेतना वृद्धि गर्ने र विकसित देशले प्रयोग गरिरहेको स्थितिबारे जानकारी पनि गराउनुपर्छ । त्यस्तै, मूल्य पनि तुलनात्मक रूपमा कसरी सस्तो हुन्छ भन्ने कुरामा पनि सरकारले अभ्यास गर्नु जरुरी छ ।

पेट्रोलमा इथानोल मिश्रण गरेपछि के–के फाइदा हुन सक्छन् ?
पहिलो कुरा त १० प्रतिशत इथानोल खपत गर्न सकियो भने त्यति नै परिमाणको पेट्रोल आयात विस्थापन गर्न सकिन्छ । अर्कातिर, तुलनात्मक रूपले वातावरणमा स्वच्छता कायम गर्न पनि सहयोग पुग्छ । इथानोल स्वदेशभित्रै उत्पादन गर्न सकिने भएकाले यहाँको कच्चापदार्थको प्रयोग र उद्योग स्थापनापछि सिर्जना हुने रोजगारीले पनि पक्कै केही फाइदा दिलाउन सक्छ ।

सुझावित समाचार