नेकपाले अघि बढायो सांगठनिक समायोजनको काम, केन्द्रीय नेताहरू नै कामविहीन

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सांगठनिक समायोजनको काम अघि बढाएको छ । २९ पुसमा केन्द्रीय सदस्यहरूको शपथ भौतिक उपस्थिति र डिजिटल माध्यमबाट हुनेछ । कार्यदलले संगठनात्मक संरचना टुंगो लगाएर शपथग्रहण गर्ने र त्यसपछि विधानअनुसार केन्द्रीय कार्यसमिति विस्तार हुनेछ । 

केन्द्रीय समितिको संख्या दुई हजार ४९९ हुने नेता प्रेमबहादुर सिंहले बताए । सबै घटकका नेतालाई समेट्नुपर्दा केन्द्रीय समितिको आकार ठुलो हुने उनले बताए । केन्द्रीय समितिको संख्या ठुलो भए पनि केन्द्रीय कार्यसमिति भने ६०१ सदस्यीय हुने उनले स्पष्ट पारे ।

माओवादी, एकीकृत समाजवादीसहित १६ घटक मिलेर गत १९ कात्तिकमा नेपाली कम्युनिस्ट पार्टी गठन गर्दा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई जिम्मेवारी दिइए पनि बाँकी नेताहरूको कार्यविभाजन भएको छैन ।

सांगठनिक समायोजनका काम बाँकी हुँदा केन्द्रीय नेताहरूले समेत काम पाएका छैनन् । तत्काल गर्नुपर्ने कामका लागि साबिक दलको प्रतिनिधित्वका आधारमा तत्कालका लागि जिम्मेवारी दिने गरिएको छ । विगतमा साबिक दलका स्थायी समितिमा रहेकाहरू समेटेर पोलिटब्युरो, पदाधिकारीलाई समेटेर सचिवालय र शीर्ष नेताहरू समेटेर कार्यसंयोजन समिति गठन गर्ने तयारीमा संयोजक प्रचण्ड र सहसंयोजक नेपाल छन् । 

यसबिचमा नेकपाले सातै प्रदेशमा एकता सन्देश सभा गरेको छ । गत १२ मंसिरमा सुदूरपश्चिमबाट सुरु भएको सन्देश सभा १३ मंसिरमा लुम्बिनी, १४ मंसिरमा गण्डकी, १५ मंसिरमा कोशी, २० मंसिरमा मधेश, २१ मंसिरमा प्रवास (भर्चुअल), २७ मंसिरमा कर्णाली र ५ पुसमा बागमती, समन्वय र उपत्यका प्रदेशमा सम्पन्न भएको छ । हाल जिल्लाहरूमा नेकपाको नाममा सन्देश सभा र भेलाहरू भइरहेका छन् । कतिपय पालिकामा पनि सन्देश सभा र भेला भएका छन् । जिल्ला र पालिकाको सन्देश सभा र भेला अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन् ।

देशव्यापी सन्देश सभाका कारण समायोजनमा केही ढिलाइ भएको नेता डा. बेदुराम भुसालले बताए । ‘यसबिचमा प्रदेशस्तरीय पार्टी एकता सन्देश सभामा लाग्यौँ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको उम्मेदवार छनोट प्रक्रिया पनि यही बिचमा भयो । जिल्ला र पालिकामा पनि सन्देश सभा र भेलाहरू भइरहेका छन् । त्यसले समायोजनका बाँकी काममा केही ढिलाइ भएको छ । छिट्टै समायोजनको काम अघि बढाउँछौँ,’ भुसालले भने ।

केन्द्रीय समितिमा एकता प्रक्रियामा सहभागी साबिकका पार्टीहरूका केन्द्रीय सदस्यहरूलाई समेटिएको छ भने पोलिटब्युरो, सचिवालय र कार्यसंयोजन समिति गठन गर्न बाँकी छ । केन्द्रीय नेताहरूको कार्यविभाजनसमेत हुन बाँकी छ । जसकारण जनसंगठन र जिल्लाहरूको एकतामा ढिलाइ भएको नेताहरू बताउँछन् ।

केन्द्रीय नेताहरूको कार्यविभाजन भएपछि बाँकी समायोजन प्रक्रिया अघि बढ्ने नेता अग्नि सापकोटा बताउँछन् । ‘केन्द्रको कार्यविभाजन भएपछि मातहतका कमिटी र जनसंगठन समायोजनको प्रक्रिया अघि बढ्छ,’ उनले भने । पार्टी समितिहरू र जनसंगठनमा संगठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गर्ने समझदारी भए पनि हालसम्म गठन भएको छैन । एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजक, संगठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने सहमति छ । 

See More On

सुझावित समाचार