- सैन्य तानासाहबाट लोकतन्त्रलाई व्यवस्थापिकामा स्थिर पार्ने खालिदा जियाको सुझबुझपूर्ण कदम बंगलादेशको आधारशिला बन्यो
खालिदा जियाको मृत्युले बंगलादेशको इतिहासको एक निश्चित अध्याय समाप्त भएको छ । मंगलबार उनको निधनको गम्भीरता बुझ्न हालैका वर्षको ध्रुवीकृत राजनीतिबाहिर हेर्नुपर्छ र एक महिलाको असाधारण दबाबलाई पहिचान गर्नुपर्छ । जसले नेतृत्व गर्दा कहिल्यै आफूलाई भाग्यमानी ठानिनन् र लोकतन्त्रका लागि राष्ट्रको संघर्षमा स्थायी योगदान दिइन् ।
जीवनको सुरुवातमा आफ्ना पति राष्ट्रपति जियाउर रहमानको छायामा ‘लजालु गृहिणी’ रहेकी खालिदाले १९८१ को रक्तपात र अराजकताबिच आफ्नो रूपान्तरण सुरु गरिन् । उनका पतिको हत्याले बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी) लाई खण्डित र नेतृत्ववविहीन बनायो । वरिष्ठ नेताहरूले उनको राजनीतिक क्षमतामाथि शंका गरे । तैपनि, जब पार्टी विघटनको संघारमा पुग्यो, उनले शून्यतामा पाइला टेकिन् ।
ढाकाको सडकमा उनको लजालुपन गायब भयो र उनको ‘सम्झौता नगर्ने’ व्यक्तित्व देखा पर्यो । एचएम एर्सादको सैन्य शासनको सामना गर्दै तानासाहलाई वैधानिक बनाउने चालबाजीलाई दृढतापूर्वक अस्वीकार गरेर आफ्नो प्रसिद्धि कमाइन् । उनलाई बारम्बार हिरासतमा लिइयो, तैपनि उनको जिद्दीपन खालिदाको सबैभन्दा ठुलो राजनीतिक पँुजी बन्यो । सडक आन्दोलन उनको इतिहासको अंश भए पनि उनको विरासतलाई दुई विशेषताले बलियो बनायो, जसले बंगलादेशको राज्य संरचनालाई मौलिक रूपमा परिवर्तन गर्योे ।
१९९० मा सैन्य शासनको पतनपछि (जुन उनकी कट्टर प्रतिद्वन्द्वी सेख हसिनासँगको दुर्लभ र रणनीतिक गठबन्धनबाट प्राप्त भएको थियो) खालिदाले १९९१ मा बिएनपीलाई आश्चर्यजनक विजय हासिल गराइन् । बंगलादेशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा उनले लामो समयदेखि निरंकुश दुव्र्यवहारको जोखिममा रहेको राष्ट्रपति प्रणालीबाट संसदीय सरकारमा संक्रमणका नेतृत्व गरिन् । यो लोकतन्त्रलाई व्यवस्थापिकामा स्थिर पार्ने उद्देश्यले गरिएको कदम थियो र यो बंगलादेशको आधारशिला बन्यो । १९९६ मा खालिदाको प्रशासनले निष्पक्ष शक्ति हस्तान्तरण सुनिश्चित गर्न अस्थिर राजनीतिक गतिरोध पार गर्यो । उनले एउटा संसद् गठन गरिन्, जुन अल्पकालीन साबित भयो । त्यसले हिंसात्मक विरोधबिच संविधानको १३औँ संशोधन पारित गर्यो । यसले औपचारिक रूपमा गैरदलीय कामचलाउ सरकार प्रणालीलाई कानुनमा समावेश गर्यो ।
लोकतान्त्रिक आचरण पालनाको दुर्लभ प्रदर्शनमा उनले तुरुन्तै संसद भंग गरिन् र राजीनामा दिइन् । यद्यपि त्यसपछिको चुनावमा अवामी लिगसँग हारे पनि उनले कीर्तिमान राखिन् । उनी देशको इतिहासमा आफूले लडेका सबै संसदीय सिट जित्ने एक मात्र नेतृ हुन् । त्यसबाहेक, उनको छविले लाखौँको दैनिक जीवनलाई नयाँ आकार दियो । उनका अर्थमन्त्री एम सैफुर रहमानको मार्गदर्शनमा उनले १९९१ मा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरिन्, जुन एक कठिन सुधार थियो, जसले राज्यको राजस्व आधारलाई विस्तार गर्यो । उनले सामाजिक संरचना परिवर्तन गरिन् । महिलाविना विकास असम्भव छ भन्ने स्विकार्दै उनको सरकारले १९९४ मा राष्ट्रव्यापी छात्रवृत्ति कार्यक्रम सुरु गर्यो, जसले छात्राका लागि माध्यमिक शिक्षा नि:शुल्क बनायो । यो एकल नीति हाम्रो देशमा ग्रामीण महिलालाई सशक्त बनाउन राज्यले गरेका पहलमध्ये सबैभन्दा परिणामकारी भएको छ ।
खालिदाको अन्तिम दशकको त्रासदी गहिरो थियो । बालुवाले भरिएका प्रहरी ट्रकले अवरुद्ध गरेको गुलसन कार्यालयको गेटमा सीमित उनले आफ्नो कान्छो छोरा अराफत रहमानको मृत्युको खबर पाइन् । बाहिरी संसारबाट एक्लिएकी उनी गहिरो शोकमा डुबिन् । २०१८ मा उनलाई जिया अनाथालय ट्रस्टसँग सम्बन्धित भ्रष्टाचारको आरोपमा सजाय सुनाइयो । यद्यपि उनका समर्थकले सो आरोप राजनीतिक रूपमा प्रेरित भएको दाबी गरे । उनी परित्यक्त पुरानो ढाका केन्द्रीय कारागारको एक मात्र कैदी बनिन् । दुई वर्षसम्म खालिदालाई जीर्ण औपनिवेशिक युगको भवनको एकान्तमा बस्न बाध्य पारियो, जसका कारण उनमा गम्भीर स्वास्थ्य संकट निम्तियो । तर, उनको दृढ संकल्प भने तोडिएन । मुहम्मद युनुसले अन्तरिम नेताका रूपमा सत्ताको चाबी लिएपछि खालिदालाई सबै आरोप र सजायबाट सफाइ दिइयो । यो सफाइ केवल कानुनी विजय मात्र थिएन, यो उनको कारावास हसिना शासनको अत्याचार थियो भन्ने उनको लामो समयदेखिको दाबीको सार्वजनिक पुष्टि थियो ।
इतिहासले उनको अन्तिम कार्य (मौनता र कारावासका वर्षहरू) लाई उनको राजनीतिक रूपमा सबैभन्दा महŒवपूर्ण मान्नेछ । हसिनाको लामो र बढ्दो क्रूर शासनकालमा खालिदा मौन प्रतिरोधको प्रतीक बनिन् । २०२४ मा विद्यार्थी नेतृत्वको विद्रोहले हसिनालाई सत्ताबाट हटाएपछि पांग्रा अन्तिमपटक घुम्यो । खालिदाकी प्रतिद्वन्द्वी देश छाडेर भागिन् र पछि उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइयो ।
तैपनि, यस नाटकीय परिस्थितिपछि खालिदाको सबैभन्दा परिभाषित प्रतिक्रिया उनको मौनता थियो । ६ वर्षको मौनतापछिको आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा उनले राष्ट्रलाई ‘बदलाको राजनीति’ अस्वीकार गर्न आग्रह गरिन् । खालिदाको निधनसँगै उनको जिम्मेवारी औपचारिक रूपमा उनका छोरा तारिक रहमानलाई हस्तान्तरण गरिएको छ, जो उनको मृत्यु हुनुभन्दा केही दिनअघि मात्र लन्डन निर्वासनबाट फर्केका छन् । पुनर्मिलन छोटो थियो, तर उनको अनुपस्थितिमा पार्टीका लागि उनको जिम्मेवारी लामो र भारी हुने निश्चित छ ।
द डेली स्टारको बुधबारको सम्पादकीय