अमेरिकाले ताइवानलाई १० अर्ब डलरभन्दा बढीको हतियार बेच्ने

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ताइवानलाई १० अर्ब डलरभन्दा बढीको हतियार बिक्रीको विशाल प्याकेज घोषणा गरेको छ । यसमा मध्यम दूरीको क्षेप्यास्त्र, हाविट्जर र ड्रोनहरू समावेश छन् । घोषणाप्रति चीनले भने आक्रोश जनाएको छ ।

बुधबार हतियार बिक्रीसम्बन्धी आठ सम्झौता घोषणा गरिए । यसमा ८२ वटा उच्च–गतिशीलता सैन्य रकेट प्रणाली (वा हिमार) र ४२० वटा सैनिक रणनीतिक मिसाइल प्रणाली (वा एटाक्सहरू) समावेश थिए । बाइडेन प्रशासनले युक्रेनलाई रुसी आक्रमण रोक्न यस्तै एटाक्स दिएको थियो । यी दुई प्रणालीको मात्र चार अर्ब डलरभन्दा बढी मूल्य रहेको छ । 

त्यस्तै, चार अर्ब डलरभन्दा बढी मूल्यको ६० वटा स्वचालित हाविट्जर प्रणाली र त्योसँग सम्बन्धित उपकरण पनि बिक्रीमा समावेश छ । साथमा एक अर्ब डलरभन्दा बढीका ड्रोन पनि समेटिएका छन् । ताइवानलाई बेचिने हतियार प्याकेजमा एक अर्ब डलरभन्दा बढीको सैन्य सफ्टवेयर, ७० करोड डलरभन्दा बढीको जेभलिन तथा मिसाइल, ९.६ करोड डलरको हेलिकोप्टरको पार्टपुर्जा र ९.१ करोड डलरबराबरको हार्पुन मिसाइलका पार्ट समावेश छन् । 

हतियार बिक्रीको घोषणापछि अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ कि ‘प्रस्तावित बिक्रीले प्राप्तकर्ताको सुरक्षा सुधार गर्न र सो क्षेत्रमा राजनीतिक स्थिरता, सैन्य सन्तुलन र आर्थिक प्रगति कायम राख्न मद्दत गर्नेछ ।’
उता चीनको विदेश मन्त्रालयले भने यस कदमको विरोध जनाएको छ ।

यस कदमबाट बेइजिङ र वासिंटनबिचको कूटनीतिक सम्झौता उल्लंघन भएको, क्षेत्रीय स्थिरतामाथि प्रहार भएको र चीनको सार्वभौमसत्ता, सुरक्षा तथा क्षेत्रीय अखण्डतालाई गम्भीर हानि पुर्याउने बेइजिङले बताएको छ । उता बिहीबार नै एक विज्ञप्ति जारी गर्दै ताइवानको रक्षा मन्त्रालय र विदेश मन्त्रालयले हतियार सहयोगका लागि अमेरिकालाई धन्यवाद व्यक्त गरेको छ ।

सुझावित समाचार