दु:खसँग लड्दै, सपना पछ्याउँदै...

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण
  • सरकारी जागिरे बन्ने सपना बोकेकी रेश्मा २१ वर्षदेखि थला परेका बुवा स्याहार्दै 

नक्सालको चारढुंगेनजिकैको एउटा घर । त्यो घरको तेस्रो तलाको एउटा कोठा । एकातिर लोकसेवाका किताबका चाङ, अर्काेतिर बाकसभरि बेच्न तयार गरिएका कपडा । छेउमा २१ वर्षदेखि मेरुदण्ड भाँचिएर ओछ्यान परेका बा । मनभरि बग्रेल्ती पिर भए पनि अनुहारमा हाँसो र आशा बोकेर हिँड्ने रेश्मा केएम ।

प्युठानको झिम्रुक गाउँपालिका–६ तोर्बाङमा साढे तीन दशकअघि जन्मिएकी रेश्माको जीवन यसरी दु:ख र अप्ठ्याराको चक्रव्यूहमा घुमेको छ कि उनको ठाउँमा अरू कोही भए आत्तिन्थे होलान् । तर, उनी निराशालाई आशामा बदल्ने प्रयास अनवरण गरिरहेकी छिन् ।

नुमबहादुर केएमको जेठो सन्तानको रूपमा सामान्य परिवारमा जन्मिएकी रेश्माको जीवन सामान्य चल्दै थियो । घाँसदाउरा, मेलापात गरेर विद्यालय तहको पढाइ सकिन् । त्यसपछि आइए पढ्ने तरखरमा थिइन् । बाबु भारतको नयाँदिल्लीमा मजदुरी गर्न गएका थिए । घरमा आमा, हजुरबा, हजुरआमा, दुई भाइ र एक बहिनी । ठिकठिकै तरिकाले घर चलिरहेको थियो । २१ वर्षअघिको जेठ पहिलो साता यस्तो घटना घट्यो कि त्यो घटनाले आजसम्म रेश्मा तड्पिरहेकी छिन् । कमाउन भारत पुगेका उनका बाबु दिल्लीको एउटा गल्लीमा लडेको अवस्थामा भारतीयले फेला पारे । त्यसपछि त्यहाँ काम गर्ने गाउँलेलाई बोलाएर जिम्मा लगाए । गाउँका मान्छेले स्थानीय अस्प्तालमा उपचार गर्न लगे । २८ घण्टापछि होस आएको नुमबहादुरको मेरुदण्ड भाँचिएको रहेछ । छातिभन्दा तल नचल्ने । गाउँका सहयोगी साथीले दिल्लीको शब्दजन अस्पतालमा एक महिना  राखेर जेठको पहिलो साता झिुम्रुख ल्याइदिए। 

कमाउन गएका बुबा जब थला परेर घर फर्किए, तब रेश्माको मथिंगलमा ठुलो चोट पुग्यो । शरीर नचल्ने, मान्छे नचिन्ने अवस्थामा बाबु घर फर्किएपछि रेश्माकी आमाले घर छोडिन् । तर, रेश्माले वृद्ध हजुरबा, हजुरआमा, अशक्त बाबु र तीनजना भाइबहिनी छाडिनन् । परिवारको जिम्मेवारी अब रेश्माको काँधमा आइलाग्यो । उनीसँग बाबुलाई अस्पताल लैजान पैसा थिएन । त्यसैले, गाउँघरमा जसले जे जडीबुटी भन्छन्, त्यही घोटेर घाउमा लगाइदिन थालिन् । घाउ पाक्न थालेपछि रेश्मालाई चिन्ताले गाँज्यो । मेलापात गरेर अलिअलि जम्मा गरेको पैसाले स्थानीय मेडिकलबाट मलम किनेर लगिन्, तर घाउ बीसको उन्नाइस भएन । ऋण खोजेर जिल्ला अस्पताल लगिन् । त्यहाँ सामान्य उपचार मात्र भयो । फेरि घर ल्याइन् । 

 यो घटनापछि जीवनमा पढेर केही गर्छु भन्ने रेश्माको उद्देश्यमा ब्रेक लाग्यो । २०६२ सालमा एसएएलसी पास गरेपछि रेश्माले दुई वर्ष आइए भर्ना गर्न सकिनन् । ‘आफूसँग एकसुको पैसा थिएन । मेलापात गरेको पैसाले बुबाको औषधि किन्न धौधौ हुन्थ्यो कसरी पढ्ने ?’ रेश्माले सुनाइन् । 

एकदिन रेश्माको जीवनमा सहयोगी हात बनेर आए ताप्लेजुङका ज्ञानबहादुर तामाङ । त्यहाँ इन्जिनियरको रूपमा पुगेका ज्ञानबहादुरले रेश्मालाई कक्षा ११ मा भर्ना गर्न तीन हजार रुपैयाँ दिए । फेरि १२ मा भर्ना गर्ने वेला एनजिओमा काम गर्ने दुई–तीनजना सहयोगी मनले भर्नाको पैसा तिरिदिए । भर्ना त भइन् तर किताब किन्ने पैसा थिएन । कक्षामा सरले पढाएको भरमा एउटा किताब पनि नकिनी रेश्माले आइए पास गरिन् । आइए सकाएको दुई वर्ष फेरि उनले बिए पढ्न सकिनन् ।

त्यसपछि स्कुलमा जागिर
‘६६ सालमा आइए सकेलगत्तै बिए पढ्न सकिनँ । बाजेबजै, बुबालाई छाडेर कता जानु ?’ उनले सुनाइन्, ‘घरनजिकै श्री बालसुधार प्राविमा पढाउन थालेँ । हेडसरले त्यतिवेला मासिक १५ सय रुपैयाँ दिनुहुन्थ्यो । घरको अवस्थाले गर्दा १५ सयमा तीन वर्ष पढाएँ ।’ रेश्मालाई त्यहाँ पढाउँदा–पढाउँदै कम्प्युटर सिक्ने सोच आयो । डेढ घण्टा बाटोमा पर्ने मच्छी  बजार गइन् । एउटा होटेलमा छिरेर खाजा खाँदै थिइन् । त्यही वेला मच्छी गौमुखी क्याम्पसका सर राजेन्द्रविक्रम सिंह जिसीसँग उनको भेट भयो । उनैले रेश्माको विषयमा सोधीखोजी गरे । रेश्माले पनि आफ्नो सबै विषय बताइन् । त्यसपछि जिसी सरले ‘तिमी कम्युप्टर नपढ । बिएड भर्ना गर म तीन वर्षको भर्ना फी मासिक शुल्क निशुल्क गरिदिन्छु भन्नुभयाे ।’ त्यसपछि रेश्मा शिक्षाशास्त्रमा अंग्रेजी मेजर विषय लिएर बिएड भर्ना भइन् । 

रेश्मा बिएड दोस्रो वर्ष पढ्दै थिइन् । त्यही वेला गैरसरकारी संस्था ‘एलजिसिडिपी’मा सामाजिक परिचालकको रूपमा काम गर्न थालिन् । त्यहाँ काम गर्दा स्थानीय पत्रकार, अरू संघसंस्थामा मान्छे, राजनीतिक दलका नेता–कार्यकर्तासँग चिनजान हुन थाल्यो । बिस्तारै घरपरिवारको विषयमा कुरा हुँदा उनले आफ्नो बुबा र परिवारको बारेमा भनिन् । त्यसपछि स्थानीय पत्रिकामा बुबाको समाचार आयो । त्यो देखेर देशविदेशबाट अलिअलि सहयोग भयो अनि बुबाको मेरुदण्ड भाँचिएको आठ वर्षपछि साँगास्थित स्पाइनल इन्जुरी संघमा ल्याइन् । त्यसपछि केही समय सुष्मा कोइराला मेमोरिल अस्पतालमा राखिन् । ‘करिब ११ महिना बुबालाई त्यहाँ राखियो । बुबाको घाउ निकै सन्चो भयो । बुबा ह्विलचियरमा बस्न सक्ने हुनुभयो,’ रेश्माले अनुहार हँसिलो बनाउँदै भनिन् । तर, फेरि बुबाको पेट एक्कासि सुन्नियो । तुरुन्त एम्बुलेन्स बोलाएर टिचिङ अस्पताल पुर्‍याइन् । त्यहाँ उपचार गरेर केही दिनपछि फेरि प्युठान लगिन् ।  

त्यसबिचमा रेश्माका हजुरआमा बितिन् । हजुरबा थला पर्दै गए । भाइबहिनी हुर्कँदै गए । उनले सात वर्ष सामाजिक परिचालक भएर काम गरिन् । त्यतिवेला उनको तलब १२ हजार थियो । बिएड पनि सकियो । त्यसपछि उनले सरकारी जागिर खाने सपना सजाउन थालिन् । उनी लागिन् काठमाडौं । 

तगारो बन्यो कोरोना

२०७६ सालमा काठमाडौँ आएकी रेश्मा त्रिभुवन विश्वविद्यालयमा डिग्री पढ्न भर्ना भइन् । उनले भनिन्, ‘दुई महिना पढेर लोकसेवा दिएँ । नाम निस्किएन । फेरि पढ्दापढ्दै लकडाउन भयो । एक वर्ष लोकसेवाको अनलाइन कक्षा पढेँ । जब–जब परीक्षा नजिक आउँथ्यो, तब–तब बुबालाई च्याप्यो भनेर फोन आउँथ्यो । कुदेर घर पुग्थेँ । फेरि हजुरबुबाको खुट्टा भाँचियो । जिल्ला अस्पतालमा झन्डै एक महिना बस्नुपर्‍यो । बुबाको रेखदेखभन्दा ठुलो मेरा लागि जागिर होइन भनेर फेरि दुई वर्ष घर बसेँ । भाइबहिनीले १२ सकेर ब्याचलर पढ्दै थिए । रेश्माले पनि पढ्दै गइन् र अहिले जनप्रशासनबाट मास्र्टर डिग्री पूरा गरिन् ।  २०७९ सालमा फेरि काठमाडौं आइन् रेश्मा । एकातिर बुबाको रेखदेख गर्नुपर्ने, अर्कोतिर हजुरबुबाको पनि रेखदेख गर्नुपर्ने जिम्मेवारी थपियो । त्यसपछि उनको लोकसेवा आयोग पास गर्ने सपना टाढा हुँदै गयो । दु:खले घेर्दे लगेपछि उनले बिहान पार्कमा चिया बेच्ने सोच बनाइन् । एक–दुई दिन पशुपति एरियामा चिया बेच्नुपर्‍यो भनेर बुझ्न गइन्। तर, उनले चिया बेच्नुभन्दा कपडा बेच्ने योजना बनाइन् । बिहान–बेलुका कपडा बेच्ने, दिउँसो पढ्ने सोचका साथ उनले कपडा बेच्न सुरु गरिन् । ०८० सालबाट यही कामलाई उनले निरन्तरता दिइरहेकी छिन् । 

साँघुरो कोठामा पाँच हजार भाडा तिरेर बसेकी रेश्मालाई बुबाकोे चिन्ताले छाडेन । आफू बस्ने कोठाको पल्लोतिर अलि ठुलो कोठा खाली भयो, मासिक १४ हजार भाडा तिर्ने गरी । सोचिन्, भाइबहिनीलाई पनि ल्याउँछु बुबालाई पनि ल्याउँछु । सबैले बिहान–बेलुका यही काम गरौँला । बुबालाई ओल्टाउन पल्टाउन पनि सजिलो सबैजना सँगै भएपछि भन्ने सोचेर उनले बुबा, कान्छो भाइ र बहिनीलाई काठमाडौँ ल्याइन् । तर, उनले सोचेकोजस्तो भएन । ‘बुबा गल्दै जानुभयो । सुत्दासुत्दै बुबाको पछाडि ठुल्ठुला घाउ बढ्न थाले । वीर अस्पताल लगेकोलग्यै गर्‍यौँ,’ उनले भनिन् ।

बुबाको घाउ सन्चो नभएपछि उनले फेरि यही वैशाखदेखि सुष्मा कोइरालामा लगिन् । त्यहाँ तीन महिना भर्ना गरिन् । त्यसबिचमा तीनपटक अप्रेसन भयो । त्यहाँका डाक्टर सन्तोष विक्रम भण्डारीले छुट गरिदिनुभयो । छुट गराएर पनि औषधी, उपचार र आइसियुमा राख्दा ६ लाख खर्च भयो । गाउँबाट एकजना दिदीले त्यो पैसा ऋण पठाइदिनुभयो । अहिले लुगा बेचेको पैसाले त्यो ऋणको ब्याज, घरखर्च, कोठाभाडा बुुबाको औषधि व्यवस्थापन गरिरहेकी छिन् । ‘बुबा भन्नुहुन्छ, ‘मेरो आशिष छ तँलाइ । तैँले सरकारी जागिर खाको हेरेर मात्रै मर्छु म । मलाई पनि मेरो अशक्त बुबाको आशा पूरा गर्नु छ । तर, बिचमा के–के आइलाग्छ के–के !’

यसबिचमा धेरै लोकसेवाका परीक्षा छुटे । रेश्मा आशावादी हुँदै भन्छिन्, ‘पचास हजार रुपैयाँ परीक्षाको फर्म भर्नमै खर्च गरिसकेँ । अझै आशा मारेको छैन ।’
 

सुझावित समाचार