राजनीतिमा पुस्तान्तरण हुने विधि र बाटो कस्तो हुन्छ ?
यसबारे कुनै पनि मुलुकमा निश्चित विधि र कानुन हुँदैन । देशअनुसार फरकफरक अभ्यास भने देखिन्छन् । बेलायतमा पार्टीले चुनावमा पराजय भोग्यो भने नेताले पद छाड्छन् । अमेरिकामा राष्ट्रपति पदमा पराजित भइसकेपछि हम्मेसि दोहोरिएर उम्मेदवार बन्न आएको देखिन्न । कतिपय देशमा पार्टीले ‘ट्रस्ट’ नगरेपछि पद छाड्ने प्रचलन पनि देखिन्छ । छिमेकी भारतमै पनि पटकपटक एउटै नेता पार्टी प्रमुख भएको देखिन्न । तर, हामीकहाँ भने पार्टी र सरकार दुवैतिरको पकड आजीवन गुमाउन नचाहने प्रवृत्ति हाबी छ । चुनाव हारे पनि पद छाड्ने चलन छैन । त्यसैले गर्दा हाम्रो राजनीतिमा सहज पुस्तान्तरण हुन नसकेको हो ।
पुराना नेताले ठाउँ छाड्न नखोज्नुको कारण के होला ?
सामान्यत: आफैँले बुझेर, आफ्नो लोकप्रियता मापन गरेर या उमेर हेरेर नेताले आफैँ नयाँ पुस्तालाई ठाउँ छाडिदिनुपर्ने हो । तर, हामीकहाँ कसैले त्यसरी छाड्न चाहेको हत्तपत्त देखिएन । नेताहरू स्वयंले बुझेर छाडिदिएको भए राजनीतिमा समस्या नै हुने थिएन । आफूले ‘डेलिभरी’ दिन सकुन्जेल त ठिकै हो, प्रश्न पनि उठ्ने थिएन तर डेलिभरी दिन नसकेर बारम्बार प्रश्न उठ्दा पनि नछाड्ने प्रवृत्तिले हाम्रो राजनीतिलाई नै दूषित बनाइरहेको छ ।
एमालेका केही नेताले महाधिवेशनमा उम्मेदवार नबन्ने घोषणा गर्नुले राजनीतिमा कस्तो प्रभाव पार्ला ?
अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र केशव बडालले गरेको घोषणा सामान्य भए पनि नेपाली राजनीतिमा यो निकै महत्व्को छ । उहाँहरूले निकै राम्रो गर्नुभएको छ । उहाँहरूको कदमबाट अरूले पनि सिक्नुपर्ने हो । तर, हामीकहाँ त्यसरी सिक्न चाहने नेता कोही पनि देखिएका छैनन् । अझ विगतमा आफैँले गरेको निर्णयसमेत आफ्ना लागि प्रतिकूल बन्यो भने सच्याएर आफ्ना लागि बाटो खुला गराउने नेताहरूको कमी छैन यहाँ ।