युक्रेनका १० लाख घरपरिवार बिजुलीविहीन

आइतबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

पछिल्लो रुसी हमलाका कारण ऊर्जा र औद्योगिक पूर्वाधारमा क्षति पुर्याएपछि युक्रेनमा दश लाखभन्दा बढी घरपरिवार बिजुलीविहीन भएका छन् । शुक्रबार रातभर रुसले युक्रेनका पूर्वाधारलक्षित हमला गरेपछि ठुलो संख्यामा युक्रेनी अन्धकारमा बस्न बाध्य भएका हुन् । युक्रेनका आन्तरिक मामिलामन्त्री इहोर क्लाइमेन्कोले युद्धबाट युक्रेनका पाँच क्षेत्र प्रभावित भएको र कम्तीमा पाँचजना घाइते भएको बताए । आगो निभाउने र आपूर्ति पुनस्र्थापित गर्ने काम भइरहेको उनले बताए । युद्धभरि युक्रेनी ऊर्जा पूर्वाधारमा रुसी आक्रमण सामान्य भए पनि जाडो सुरु हुँदै गर्दा मस्कोले आक्रमण तीव्र पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विदेशी दूतले यस सप्ताहन्तमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र युरोपेली नेतालाई युद्ध अन्त्य गर्नेबारे थप वार्ता गर्न जर्मनीको यात्रा गर्ने क्रममा यो घटना भएको हो ।

शुक्रबार रातभरको आक्रमणमा रुसले ४५० भन्दा बढी ड्रोन र ३० क्षेप्यास्त्र प्रयोग गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताए । रुसी हमलामा निप्रोपेट्रोभस्क, किरोभोहराद, माइकोलाइभ, ओडेसा र चेर्निहिभ क्षेत्र प्रभावित भएका छन् । रुसको रक्षा मन्त्रालयले आक्रमणमा किन्जल हाइपरसोनिक मिसाइलसहित अत्याधुनिक हतियार प्रयोग भएको जनाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले युक्रेनको जापोरिजिया आणविक ऊर्जा केन्द्रले ‘विद्युतीय ग्रिडलाई असर गर्ने व्यापक सैन्य गतिविधिका कारण’ रातारात सबै अफसाइट बिजुली अस्थायी रूपमा गुमाएको बताएको छ । यो प्लान्ट युक्रेनको रुसी–नियन्त्रित क्षेत्रमा छ । यो सञ्चालनमा छैन, तर यसको रिएक्टरलाई चिसो पार्न निरन्तर बिजुली आपूर्ति चाहिन्छ । रुसमा क्षेत्रीय गभर्नर रोमन बुसार्गिनका अनुसार साराटोभमा ड्रोन हमलाले आवासीय भवनमा प्रहार गरेपछि दुईजनाको मृत्यु भएको छ । ट्रम्प प्रशासनले क्रिसमससम्ममा युद्ध अन्त्य गर्ने सम्झौताका लागि जोड दिइरहेको छ र हालैका हप्तामा युक्रेनी र रुसी प्रतिनिधिसँग धेरै चरणको वार्ता गरिसकेको छ, यद्यपि कुनै सफलता हुन सकेको छैन ।

यसैबिच युक्रेन र रुसबिच मध्यस्थता गर्ने ह्वाइट हाउसको प्रयासको नेतृत्व गरिरहेका स्टिब विटकफले बर्लिनमा प्रस्तावित शान्ति सम्झौताको पछिल्लो संस्करणबारे छलफल गर्नेछन् । बर्लिन वार्तामा कुन युरोपेली नेताहरूले भाग लिनेछन् भन्ने पुष्टि भएको छैन । वाल स्ट्रिट जर्नलले बेलायतका प्रधानमन्त्री सर केयर स्टारमर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर फ्रेडरिक मर्ज सबैले बैठकमा भाग लिने बताएको छ ।

See More On

सुझावित समाचार