नेपाली क्रिकेटका राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवाललाई ३ प्रश्न

आइतबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

एनपिएलको दोस्रो संस्करण पनि सकियो । यसलाई कसरी हेर्नुभएको छ ?
यसलाई ‘ग्य्रान्ड सक्सेस’ नै भन्नुपर्छ । ‘म्याच’हरू राम्रै भए । व्यवस्थापन र अन्य पक्ष ‘स्मुथ’ नै रहे । दर्शकको चासो पनि लोभलाग्दो देखियो । काठमाडौंबाहिरदेखि एनपिएल हेर्नकै लागि भनेर दर्शक आए । अझै पनि धेरैतिरका दर्शकलाई प्रत्यक्ष हेर्ने अवसर जुटाउन सकिएको छैन । दर्शकको मागअनुसार आगामी दिनमा ‘होम एन्ड अवे’ गर्न सके बाहिरका दर्शकले पनि प्रत्यक्ष खेल हेर्ने अवसर पाउने थिए । एउटै मैदानमा यति लामो ‘टुर्नामेन्ट’ गर्नु राम्रो होइन । यसले पिचको ‘क्वालिटी’मा पनि समस्या आउँछ । ‘मिडिया कभरेज’, दर्शकको चासो, विदेशी खेलाडी, विदेशी प्रशिक्षक, ‘कमेन्टेटर’, विदेशी च्यानल आदिको उपस्थिति हेर्दा एनपिएल एउटा अलग ब्रान्ड बन्न सफल भएको छ । 

एनपिएलको दोस्रो संस्करणसम्म आइपुग्दा विदेशी खेलाडीसँगको ‘एक्सपोजर’ले नेपाली खेलाडीको खेल कति परिष्कृत भएको पाउनुभयो ?
इमानदारीपूर्वक भन्ने हो भने केहीबाहेक नेपाली खेलाडीको सम्झिनलायक प्रदर्शनी देख्न पाइएको छैन । अलि चलेका खेलाडीको सूची हेर्दा प्राय: विदेशी खेलाडी नै अगाडि देखिन्छन् । राम्रा विदेशी खेलाडीको उपस्थितिमा उनीहरूसँगै ड्रेसिङ रुम सेयर गर्दा, मैदानमा प्रतिस्पर्धा गर्दा नयाँ–नयाँ खेलाडी अगाडि आएर तहल्का मच्चाउनुपर्ने हो । नयाँ–नयाँ ट्यालेन्ट आउनुपर्ने हो । तर, हाम्रा खेलाडीको ‘परफर्मेन्स’चाहिँ ‘एभरेज’ नै देखियो ।

नेपाली क्रिकेटको थप विकासका लागि के गर्नुपर्ला ?
त्यसका लागि त धेरै गर्न बाँकी नै छ । हाम्रो क्रिकेटको भौतिक पूर्वाधार निकै कमजोर छ । ‘टुर्नामेन्ट’को ‘स्ट्रक्चर’मा धेरै सुधार गर्न बाँकी छ । टियु र मूलपानीले मात्र हाम्रो क्रिकेटलाई माथि उचाल्न कठिन छ । यसका लागि काठमाडौंबाहिर पनि प्रतियोगिता गराउन सकिने खालका ‘ग्राउन्ड’को खाँचो छ । नयाँ–नयाँ खेलाडी उत्पादनका लागि ‘टुर्नामेन्टको फम्र्याट’मा पनि सुधार हुनुपर्छ । 

सुझावित समाचार