उदयपुरमा धान उत्पादन घट्दै

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

जलवायु परिवर्तनसँगै सिँचाइको अभावमा उदयपुरमा पछिल्ला वर्षहरूमा बर्खेधान उत्पादन घट्दै गएको छ। धानखेती हुने जग्गाको क्षेत्रफल यथवत् रहे पनि उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र उदयपुरको तथ्यंकमा देखिन्छ।

ज्ञान केन्द्रका अनुसार कुल खेतीयोग्य जमिन २२ हजार २१० हेक्टर रहेकोमा १३ हजार ११२ हेक्टरमा बर्खेधान खेती हुन्छ। जलवायु परिवर्तन र सिँचाइ सुविधाको अभावमा धान उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्रप्रसाद यादवले जानकारी दिए। उनले भने, ‘धान रोपाइँ हुने समयमा पानी पर्दैन। सिँचाइको अभाव छ। त्यसकारण पछिल्लो समय धान उत्पादन घटेको देखिन्छ।’

उनका अनुसार चालू आर्थिक वर्ष ०८२/८३ मा जिल्लामा १२ हजार ९१२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। त्यसमा ३१ हजार ३१८ मेट्रिक टन उत्पादन भएको छ। उनले भने, ‘गएको आव ०८१/८२ को तुलनामा चालू आवमा ४०८ हेक्टर क्षेत्रफलमा धान खेती हुन सकेन। जसको कारण १८ हजार २७५ मेट्रिक टन धान उत्पादनमा कमी भएको हो।’ उनले रोपाइँको समयमा पानी नपर्नु र सिँचाइको अभाव हुनु नै धान उत्पादन घट्नुको कारण भएको बताए। उनले भने, ‘त्यसमा रोपाइँ हुन नसकेपछि क्षेत्रफल पनि घटेको छ। यता धान थनक्याउने समयमा बेमौसमी झरीले पनि धान उत्पादनमा क्षति पुर्यायो।’

उनका अनुसार आव ०७८/७९ र ०७९/८० मा समान १३ हजार ३८० हेक्टरमा धान खेती हुँदा ५३ हजार ५२० मेट्रिक टन उत्पादन भएको थियो। आव ०८०/८१ मा १२ हजार ७९३.९५ हेक्टरबाट ५१ हजार १७५.८ मेट्रिक टन धान उत्पादन हुँदा ०८१/८२ मा १३ हजार ३२६ हेक्टरमा ४९ हजार ५७५ मेट्रिक टन धान उत्पादन भयो। आव ०८०/८१ को तुलनामा ०८१/८२ मा धान खेती भएको क्षेत्रफल बढे पनि उत्पादन एक हजार ६ सय मेट्रिक टन घटेको देखिन्छ।

उदयपुरमा २२ असारभित्र रोपाइँ सक्नुपर्ने खेतमा समयमै रोपाइँ हुन नसक्नु र धान थन्क्याउने समय कात्तिकमा परेको बेमौसमी झरीका कारण धान उत्पादनमा कमी आएको प्रमुख यादवको भनाइ छ। उनले भने, ‘गत कात्तिकमा बंगालको खाडीमा बनेको मोन्था चत्रवातको प्रभावले भएको वर्षा र हावाहुरीको  कारण उदयपुरको एक हजार हेक्टरभन्दा बढी धानखेतीमा क्षति पुर्याएको थियो।’

जिल्लाको भित्री मधेशमा पर्ने त्रियुगा नगरपालिका, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिकामा बढी धानखेती हुने गरेको छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ११ हजार ५४६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुगेको छ। यादवले भने, ‘तर, यो तथ्यांक मेरो विचारमा केही गलत छ। अनुमानित पाँच हजार हेक्टर मात्र सिँचाइको सुविधा पुगेको हो।’ सिँचाइको सुविधान पुगे पनि रोपाइँ हुने समयमा पानी नपर्दा खोलामा पानी सुकेर कुलोमा आउन सक्ने अवस्था हुँदैन। त्यसकारण पनि धान उत्पादन घटेको बताइन्छ।

सुझावित समाचार