श्रीलंकाका १५० पर्यटन व्यवसायी काठमाडौंमा

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले श्रीलंकाका करिब १५० जना पर्यटन व्यवसायी काठमाडौं आएका छन्। रुप्से होलिडेजको समन्वय तथा व्यवस्थापनमा श्रीलंकाका दुई प्रमुख पर्यटन संस्था ‘ट्राभल एजेन्ट्स एसोसिएसन अफ श्रीलंका’ र अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आयटा)बाट मान्यता प्राप्त एजेन्ट्स एसोसिएसनको वार्षिक साधारणसभा काठमाडौंमा आयोजना गरिएको हो।

दूषित प्रिन्सेस होटेलमा भदौ १७ देखि २० गतेसम्म सञ्चालित कार्यक्रममा पहिलो संस्थाको ५१औँ र दोस्रो संस्थाको ३८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।यसअघि टोकियो, बेइजिङ, इस्तानबुल, बैंकक, बाकु र मेलबर्नजस्ता सहरमा वार्षिक साधारणसभा आयोजना गर्दै आएका यी संस्थाले गत वर्ष सिंगापुर–मलेसिया क्षेत्रमा क्रुज कार्यक्रम गरेका थिए। यसपटक भने वार्षिक साधारणसभाका लागि काठमाडौं रोजेका हुन्।

नेपाली पर्यटन क्षेत्रमा विदेशी पर्यटकको आगमन बढाउन तथा ‘नेपाल भ्रमणका लागि सुरक्षित छ’ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदूत, श्रीलंकाको राष्ट्रिय वायुसेवाका वाणिज्य निर्देशक, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष भरतजंग पाण्डे, महासचिव राजकुमार देवकोटा तथा नेपाल पर्यटन बोर्डका प्रतिनिधिलगायतको सहभागिता थियो।

रुप्से होलिडेजका संस्थापक एवं नाट्टाका सचिव रमेश पराजुलीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारी प्रयाससँगै निजी क्षेत्रको प्रत्यक्ष पहल आवश्यक रहेको बताए। ‘श्रीलंकाका यी व्यवसायीहरू आफ्ना देशमा पर्यटकलाई गन्तव्य सिफारिस गर्ने प्रमुख माध्यम हुन्,’ पराजुलीले भने, ‘उनीहरूले नेपालको वास्तविक अवस्था प्रत्यक्ष अनुभव गरेपछि आफ्ना ग्राहकलाई यहाँ भ्रमण गर्न निर्धक्क रूपमा सिफारिस गर्न सक्नेछन्।’

उनका अनुसार काठमाडौंमा आयोजना गरिएको यस कार्यक्रमले श्रीलंकाली पर्यटन व्यवसायीलाई नेपालको पर्यटकीय अवस्था प्रत्यक्ष बुझ्ने अवसर प्रदान गर्नुका साथै नेपालको पर्यटनबारे सकारात्मक सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

सुझावित समाचार