काठमाडौं/ उपभोक्ताबाट स्वीकृत दररेटभन्दा बढी सेवा शुल्क असुल गर्ने तथा अनुमति नलिई प्याकेज बेच्ने थप ६ इन्टरनेट सेवाप्रदायकलाई दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ ।
प्राधिकरणले इन्टरनेटको सेवा शुल्कका सम्बन्धमा अनुमतिपत्रको सर्त तथा प्रचलित कानुनविपरीत कार्य गरेको भन्दै सेवाप्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको हो । यसअघि यसै साता १४ कम्पनीलाई यस्तै कारबाही गरिएको थियो ।
प्राधिकरणको कारबाहीमा पर्नेमा सरकारी स्वामित्वको नेपाल टेलिकमसमेत रहेको छ । त्यस्तै, आई जोन प्रालि, मोरङ, चितवन युनिक नेट प्रालि, चितवन, स्काई ब्रोडब्यान्ड प्रालि, ललितपुर, सजिलो नेट प्रालि, काठमाडौं र कनेक्ट नेपाल नेटवर्क प्रालि, ललितपुरलाई प्राधिकरणले कारबाही गरेको हो । यसै साता सुबिसु, वल्र्डलिंक, डिसहोम, सिजिलगायत ठुला इन्टरनेट सेवाप्रदायक यस्तै सर्तविपरीत कार्य गरेको भन्दै कारबाहीमा परेका थिए ।
प्राधिकरणले मर्कामा परेका ग्राहकलाई क्षतिपूर्ति दिनसमेत सेवाप्रदायकलाई निर्देशन दिएको छ । ‘कुनै ग्राहकलाई हानि–नोक्सानी हुन गएको भए त्यस्ता ग्राहकले माग गरेको खण्डमा हानि–नोक्सानीको बिगो वा सोबापत क्षतिपूर्ति भराउने र प्राधिकरणबाट स्वीकृति नलिई सञ्चालन गरिएका सम्पूर्ण इन्टरनेट सेवाका प्याकेज शुल्क तत्काल बन्द गरी यस प्राधिकरणलाई जानकारी गराउन सम्बन्धित सेवाप्रदायकलाई निर्देशन दिइएको छ,’ प्राधिकरणले उल्लेख गरेको छ ।