सन् २०१५ : पेरिस जलवायु सम्मेलनको अन्तिम दिन विश्वका १९५ देशले विश्वव्यापी तापमान वृद्धिलाई पूर्व–औद्योगिक कालको तुलनामा दुई डिग्रीभन्दा बढी बढ्न नदिने सम्झौता गरे ।
सन् १८२२ : अमेरिकाले स्पेनको शासनबाट एक वर्षअघि स्वतन्त्र भएको मेक्सिकोलाई अन्तत: औपचारिक रूपमा स्वतन्त्र राष्ट्रको मान्यता दियो ।
सन् १९२५ : शक्तिशाली सैन्य अधिकृत रेजा खान इरानका नयाँ राजा घोषित भएसँगै पल्हवी वंशको शासन सुरु भयो ।
सन् १९३६ : सियान घुम्न गएका राष्ट्रपति चियाङ काई सेकलाई त्यस भेगका सैन्य कमान्डर जनरल झाङ सुएलियाङले पक्राउ गरेर कम्युनिस्टसँगको गृहयुद्ध रोकेर आक्रमणकारी जापानी फौजविरुद्ध युद्ध घोषणा गर्न बाध्य बनाए ।
सन् १९५९ : संयुक्त राष्ट्र संघको महासभाले अन्तरिक्ष खोजमा अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धन गर्न भन्दै ‘युएन कमिटी अन पिसफुल युजेज अफ आउटर स्पेस’ (सिओपियुओएस) गठन गर्यो ।
सन् १९६३ : एक वर्षअघि यसै दिन बेलायतको शासनबाट स्वतन्त्र भए पनि ब्रिटिस महारानीलाई सेरोमोनियल राज्य प्रमुख स्विकारेको केन्याले अन्तत: गणतन्त्र भएको घोषणा गर्यो । पहिले प्रधानमन्त्री रहेका जोमो केन्याटा राष्ट्रपति चुनिए ।
सन् १९७९ : दक्षिण कोरियाका मेजर जनरल चुन दु–ह्वानले राष्ट्रपतिको निर्देशनविना सेना प्रमुख जनरल जिओङ सिउङ–ह्वालाई पक्राउ गरे । यस घटनापछि शक्ति बढाउँदै लगेका चुनले अर्को वर्ष सत्ता हत्याउँदै आठ वर्ष तानाशाही शासन चलाए ।
सन् १९८१ : गाम्बिया र सेनेगलबिच कन्फेडरेसनका रूपमा अघि बढ्ने सम्झौतामा हस्ताक्षर भयो । अर्को वर्ष फेब्रुअरी १ देखि कार्यान्वयनमा आएको सम्झौता नौ वर्षपछि तोडियो ।
सन् १९९१ : नाइजेरियाले आफ्नो देशको एक छेउमा रहेको लाओसबाट करिब बिचमा अवस्थित अवुजामा सार्यो ।
सन् २००० : अमेरिकाको सर्वोच्च अदालतले फ्लोरिडा राज्यमा देखिएको विवादका कारण दुई महिनादेखि रोकिएको राष्ट्रपति चुनावको परिणाममा अन्तिम निर्णय गर्दै जर्ज डब्लु बुसलाई विजयी घोषित गर्यो ।