सरकारी अस्पतालमा स्वास्थ्य बिमाले समेट्ने सयौँ प्रकारका औषधि नपाइनुको कारण के हुन सक्छ ?
सरकारी अस्पतालमा ठ्याक्कै यति नै संख्यामा औषधि अभाव छ भन्ने तथ्यांक नभए पनि बिमाले कभर गर्ने औषधि नपाइएका गुनासा वेलावेलामा आइरहेका हुन्छन् । बजारमा औषधि अभाव छैन । सम्बन्धित अस्पतालले किन समयमै खरिद गरेनन्, त्यसको अनुगमन गरेर खरिद गराउने व्यवस्था मिलाउँछौँ । बिमाको सुविधा थैलीमा भएका औषधि सेवाग्राहीलाई दिनैपर्छ । औषधि लिने सेवाग्राही लाभान्वित हुनैपर्छ । त्यसका लागि हामी थप अनुगमन गरेर
अघि बढ्नेछौँ ।
कतै आर्थिक स्रोतको अभाव भएर यस्तो भएको त होइन ?
आर्थिक स्रोत त वेलावेलामा शोधभर्ना भइरहेकै हुन्छ । पहिले अस्पतालले औषधि खरिद गरेर स्रेवाग्राहीलाई वितरण गर्छन् । त्यसपछि बिमाबाट त्यसको शोधभर्ना हुन्छ । बिमाले औषधि खरिद गर्न भनेर पहिल्यै निकासा दिँदैन । सामान्यत: दुई–तीन महिनामा शोधभर्ना हुन सके सहज हुन्थ्यो । तर, कहिलेकाहीँ वर्ष दिनसम्म लागेको पनि देखिन्छ । यसका लागि हामीले अहिले स्वास्थ्य बिमा कार्यक्रम लागु भएका सबै अस्पताललाई शोधभर्ना दिन पुग्ने गरी करिब सात अर्बजति माग गरेर अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छौँ । सो रकम प्राप्त भएमा असोज मसान्तसम्मको शोधभर्ना गर्न पुग्छ ।
यस्तो अवस्था अन्त्य गर्न मन्त्रालयले के गर्दै छ त ?
हामीले ‘आइटी बेस्ड’ भई ‘रियल टाइम पेमेन्ट’ गर्ने गरी तयारी गरिरहेका छौँ । अस्पतालले पाउनुपर्ने शोधभर्ना तीन महिनाभन्दा बढी बाँकी नरहने गरी काम गरिरहेका छौँ । सुविधा थैलीमा पनि परिमार्जन गर्ने प्रयास भइरहेको छ । बिमामा दिनुपर्ने औषधि सम्बन्धित अस्पतालले किन दिन सकेनन् भन्ने अनुगमन गरी त्यसमा सहजीकरण गर्ने काम पनि मन्त्रालयले गर्नेछ ।