नेपालका लागि चीनबाट खासा आइपुगेका झण्डै एक सय कन्टेनर फलफूल कुहिने जोखिम बढेको छ । तुरुन्तै सडक नखुल्ने हो भने सबै कन्टेनर फलफूल काम नलाग्ने गरि कुहिने अवस्थामा पुगेको स्याउ व्यापारीहरुले गुनासो पोखेका छन् । इकु पहिरो नियन्त्रण गर्न सरकारले बजेट व्यवस्थापन गर्नुपर्ने माग राखेर तातोपानीवासी विरोधमा निस्केपछि कोदारी सडक शनिबारदेखि बन्छ छ। बन्द सडक खुलाउन सरकारी अधिकारी कोही पनि नाका पुगेका छैनन् ।
स्याउ व्यापारी शारदाप्रसाद पराजुलीले दिएको जानकारीअनुसार नेपाली तीन सय कन्टेनर फलफूल खासा र न्यालममा २५ दिनदेखि अलपत्र अवस्थामा छन् । नेपालपट्टि प्रवेश गरेका २० चिनियाँ कन्टेनर पनि इको पहिरोभन्दा माथि लिपिङमै रोकिएका छन् ।‘हाम्रो के गल्ती छ र यस्तो सजाय दिएको होला ? ’ प्रश्न गर्दै पराजुलीले भने, नेपाली तीनसय कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ।’
लगभग ७० करोड बराबरको स्याउ र किवी कुहिने अवस्थामा पुगेको उनले प्रष्ट्याए । हिउँदमा काम नगर्ने । जब बर्खा लाग्छ अनि बजेट सकाउन ठेक्का सम्झौता गर्ने परिपाटीले कोदारी सडक बर्खाभर बन्द हुने भन्दै भोटेकोसी- २ का स्थानीय पाँच दिनदेखि इको पहिरोमा सडक बन्द गरेर धर्नामा बसेका छन् । यो समाचार तयार पार्दासम्म धर्ना हटाएर स्थानीयको माग सम्बोधन गर्न कुनै सरकारी निकायले पहल गरेका छैनन् ।
इकु पहिरो नियन्त्रणका लागि बजेट सुनिश्चित भएर ठेक्का सम्झौता हुने निश्चित भएमात्र सडकको अवरोध हटाउने स्थानीयले बताएका छन् । धर्नामा बसेका स्थानीय राजु घतानीले कोदारी बस्ती सुरक्षित गर्दै पहिरो नियन्त्रणमा बजेट सुनिश्चित नभएसम्म विरोध जारी रहने बताए । यद्यपि, सरकारले इकु पहिरो नियन्त्रणका लागि ४८ करोड ४९ लाख रकम स्रोत सुनिश्चित गरेको बताइएको छ ।