जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनीष सुमनलाई ३ प्रश्न

सोमबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

 मधेशी दलहरूबिच भइरहेको भनिएको एकता प्रगति कहाँ पुग्यो ?
एकता प्रयास प्रगतिमै छ । निर्वाचन आयोगको ‘कट अफ डेट’ गुज्रिसकेको भए पनि त्यो ठुलो कुरो होइन, ‘टेक्निकल’ मात्र हो । दलहरू मिलेमा यो चिह्न लिएर हामी चुनाव लड्छौँ भनेपछि मिलिहाल्छ । यतिखेर जसपा र लोसपा एकताका लागि गहिरो संवादमा छन् । दुवै पार्टीका अध्यक्षको तहमै संवाद चलिरहेको छ । दुवैको विचार एउटै छ । उद्देश्य पनि मिल्छ । खालि नाम, झन्डा र अध्यक्ष मात्र फरक भएको अवस्था छ । मधेशी दलहरूबिचको एकता समयको माग पनि हो र मधेशका जनताको चाहना पनि हो । 

 सत्ता पाउँदा विभाजन र संकट पर्दा एकता गर्ने दौडले जनतामाझ कस्तो सन्देश जाला ? 
पछिल्लो समयमा मधेशी दलहरूमा पनि लोभीपापी नभएका होइनन् । बाढीमा सबै कुरा मिसिने र बग्ने काम हुँदो रहेछ । मधेश आन्दोलनको बाढीमा पनि त्यस्तै लोभीपापीहरू मिसिए । तिनैका कारण मधेशी दलहरू पटकपटक फुटे । फुट मधेशको राजनीतिको गम्भीर रोग बन्यो । तर, समय क्रममा जनताले पार्टी फुटाएर जानेहरूको हुर्मत लिए । जसले गर्दा त्यस्ता लोभीपापीहरू किनारातिर धकेलिए । यतिखेर हामी सत्ताका लागि होइन, निर्वाचनबाट जनताको मतादेश प्राप्तिका लागि बलियो शक्ति बनाउन एकताको पहल गर्दै छौँ ।  

 ठुला र नयाँ दलहरूबाट डराएर यस्तो प्रयास थाल्नुभएको हो ?
नयाँ दलहरूबाट डराउनुपर्ने कुनै कारण नै छैन । उनीहरूले हामीलाई लक्षित गरेका छैनन् । उनीहरूका ‘टार्गेट’ त देउवा, ओली र ठुला दल मात्र हुन् । नयाँमध्ये अधिकांश दलका माग र मुद्दा हामीसँग मिल्छन् । बरु निर्वाचनपछि देश र जनताको हितका लागि नयाँ दलहरूसित सहकार्य गरेर जान सकिने सम्भावना देखिन्छ । पुरानालाई त जनताले नै तह लगाउनेछन् । त्यसैले, उनीहरूबाट किन डराउनु ?

सुझावित समाचार