न्यायाधीशलाई पनि कर्मचारीसरह महँगी भत्ता दिने सरकारको निर्णय

कानुनका अनुसूचीमा संशोधन गरेर राष्ट्रसेवक कर्मचारीसरह भत्ता वृद्धि गरिँदै

बुधबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

सरकारले न्यायाधीशहरूलाई पनि कर्मचारीसरह महँगी भत्ता दिने निर्णय गरेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले कर्मचारीको तलबको सट्टा महँगी भत्ता बढाउने घोषणा गरेको थियो । तर, यो सुविधा न्यायाधीशहरूले पाएका थिएनन् । सरकारले न्यायाधीशहरूको कानुनका अनुसूचीमा संशोधन गरेर राष्ट्रसेवकसरह भत्ता वृद्धि गर्ने निर्णय गरेको हो ।

कानुन मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका सर्तसम्बन्धी ऐन, २०७४ को अनुसूची १ र उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरूको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०७४ को अनुसूची १ मा हेरफेर गर्ने’ निर्णय गरेको छ । प्रधानन्यायाधीश र न्यायाधीशहरूको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी अनुसूचीमा तलब, सुविधा र भत्ताको दर तोकिएको छ । त्यसमध्ये विशेष भत्ताका रूपमा प्रदान गर्ने भत्तालाई बढाइएको हो । 

विशेष भत्ताका रूपमा हाल प्रधानन्यायाधीशदेखि सबै न्यायाधीशहरूले मासिक रूपमा एक हजार रुपैयाँ पाउने व्यवस्था दुवै ऐनमा छ । अनुसूचीको विशेष भत्ताको रकमलाई संशोधन गरिएको हो । कानुन मन्त्रालय स्रोतका अनुसार यो भत्तालाई अन्य राष्ट्रसेवकसरह कायम गर्ने गरी अनुसूची संशोधन गरिएको छ । 

सेवा–सुविधालाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकता भए पनि स्रोत व्यवस्थापनमा दबाब पर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव नभएपछि सरकारले भत्ता वृद्धि गरेको थियो । चालू आवको बजेट वक्तव्यमार्फत बुँदा नम्बर ३४९ मा सबै राष्ट्रसेवकका लागि १ साउनदेखि लागू हुने गरी महँगी भत्ता वृद्धि गरी मासिक पाँच हजार रुपैयाँ पुर्याएको उल्लेख छ । दुई हजार रहेको साबिकको भत्तालाई सरकारले बजेटमार्फत पाँच हजार पुर्याएको थियो ।

तर, राष्ट्रसेवकहरूको भत्ता बढ्दा राज्यकोषबाटै तलब खाने न्यायाधीशहरू भने त्यसबाट वञ्चित थिए । ‘अब अरू राष्ट्रसेवकसरह नै न्यायाधीशले बजेटमार्फत बढेको भत्ता पाउने गरी कानुनी बाटो खुलेको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो । यससँगै न्यायाधीशहरूले विशेष भत्ताका रूपमा महँगी भत्ताबापतको मासिक पाँच हजार रुपैयाँ रकम पाउनेछन् । 

सुझावित समाचार