सन् १७८२ : बेलायत र अमेरिकी वार्ताकारबिच अमेरिकाको स्वतन्त्रता स्विकार्नेसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर । यस प्रारम्भिक खाकामा अन्तिम सहमति तथा हस्ताक्षर भने एक वर्षपछि सेप्टेम्बरमा पेरिसमा भएको थियो ।
सन् १७८६ : हाल इटलीको हिस्सा रहेको तत्कालीन टस्कानिका राज्यका राजा लियोपोल्ड द्वितीय मृत्युदण्डलाई बन्देज लगाउने विश्वको पहिलो राजनेता बने ।
सन् १९३८ : आजको दिन रोमानीको राज्य कब्जा गर्ने फासीवादी शक्तिको प्रयास असफल भयो ।
सन् १९३९ : सोभियत संघले फिनल्यान्ड कब्जा गरेको घोषणा गर्दै राजधानी हेलसिन्कीमा बमबारी सुरु गर्यो ।
सन् १९५० : तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले कोरियाली गृहयुद्धमा आफूविरुद्ध लडिरहेको चीनविरुद्ध आणविक बम प्रयोग गर्ने धम्की दिए ।
सन् १९५७ : इन्डोनेसियाका प्रथम राष्ट्रपति सुकार्नोको हत्या प्रयासका क्रममा आठजनाको ज्यान गयो, तर सुकार्नो भने बच्न सफल भए ।
सन् १९६१ : बर्माका कूटनीतिज्ञ यू थान्त संयुक्त राष्ट्र संघका तेस्रो महासचिव चुनिए । सोसँगै यू थान्त सो विश्व संगठनको शीर्ष पदमा पुग्ने पहिलो एसियाली नागरिक भएका थिए ।
सन् १९८२ : रिचर्ड एटेनबोरोको निर्देशनमा बनेको महात्मा गान्धीको जीवनमा आधारित चर्चित हलिउड फिल्म ‘गान्धी’को नयाँदिल्लीबाट प्रदर्शन सुरु भयो । फिल्मले आठ विधामा ओस्कार पुरस्कार जितेको थियो ।
सन् २०२१ : बेलायतको राजशाहीलाई राष्ट्रप्रमुख मान्दै आएको बारबाडोसले एक समारोहबिच देशलाई गणतन्त्र घोषणा गर्यो । सान्ड्रा म्यासन देशकी नयाँ राष्ट्रपति बनिन् ।
सन् २०२२ : कृत्रिम बौद्धिकयुक्त च्याटबट ‘च्याटजिपिटी’को प्रोटोटाइप आजकै दिन एक वर्षअघि सार्वजनिक भएको थियो । जटिल प्रश्नको पनि मौलिक जवाफ दिने, कविता लेख्न सक्ने र मानवीय संवेदनाको नक्कल गर्ने यस प्रविधिले विश्वलाई आश्चर्यचकित र भयभीत बनाएको थियो ।