कर्णालीविरुद्ध विराटनगर तीन विकेटले विजयी

शुक्रबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण
कर्णालीविरुद्ध विराटनगर तीन विकेटले विजयी

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले तीन विकेटको जित निकालेको छ। त्रिवि क्रकेट रंगशालामा १६१ रनको लक्ष्य पछ्याएकाे विराटनगरले एक बल बाँकी रहँदै सात विकेट गुमाएर १६३ रन बनाएको हो।

विराटनगरलाई कठिन जित दिलाउने क्रममा बसिर अहमदले ४३ बलमा ६२ रनको अर्धशतकीय इनिङ्स खेले। उनले समान तीन छक्का र चौका प्रहार गरे। नन्दन यादवको बलमा उनले छक्का प्रहार गरी विराटनगरलाई महत्त्वपूर्ण तीन अंक दिलाए। इनिङ्सको एक समय विरानगर ११.६ ओभरमा ६५–५ को नाजुक अवस्थामा थियो।

त्यसपछि नारायण जोशी र बसिरले छैटाैँ विकेटका लागि महत्त्वपूर्ण ६९ रनको साझेदारी गर्दै विराटनगरलाई जितको आशा दिलाए। उनीहरूले टोलीलाई १७.४ ओभरमा १३४–६ को स्थितिमा राखे। नारायणले १६ बलमा २५ रनको योगदान दिन दुई चौका र एक छक्का प्रहार गरे। यसअघि विराटनगरले शीर्ष चार खेलाडी ६३ रनमा गुमाएर कमजोर सुरुवात गरेको थियो। कर्णालीले खेलमा विराटनगरलाई २१ अतिरिक्त रन दियो। स्लो ओभर गरेको कारण कर्णालीले पेनाल्टीसमेत पाएको थियो।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको कर्णाली याक्सका लागि ओपनर प्रियांक पाञ्चालले ४७ बलमा सर्वाधिक ६३ रनको योगदान दिएका थिए। उनले ६ चौका र दुई छक्का प्रहार गरे। यसैगरी, विलियम बोसिस्टोले ४८ बलमा दुई चौका प्रहार गरी ४८ रन जोडे। गुल्सन झाले १० बलमा २० तथा नजिबुल्लाह जार्दानले ६ बलमा १२ रन बनाए।

बलिङमा विराटनगरका लागि मार्चान्ट डे लागें र सन्दीप लामिछानेले समान एक–एक विकेट हात पारे। कर्णालीको बलिङमा सोमपाल कामी र गुल्सन झाले दुई–दुई विकेट लिँदा पवन सर्राफ, नन्दन यादव र विलियम बोसिस्टोले समान एक विकेट हात पारे।

जितसँगै विराटनगर आठ अंकका साथ दोस्रो स्थानमा रह्यो । कर्णाली दुई अंकका साथ पाँचौँ स्थानमा छ। आजकाे पहिलो खेलमा चितवन राइनाेजमाथि जित निकालेको काठमाडौं गोर्खाज तेस्रो स्थानमा छ। काठमाडौंले ६ अंक बनाएको छ। चौथो स्थानमा रहेको चितवनको चार अंक छ।

सुझावित समाचार