एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा

मंगलबार, १० मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार प्रेस वक्तव्य जारी गर्दै पोखरेलले पार्टीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

‘...११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु। पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ,’ वक्तव्यमा पोखरेलले भनेका छन्।

पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रस्ताव वर्तमान अध्यक्ष केपी ओलीले सातौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरी आठौँ, नवौँ र दशौँ राष्ट्रिय महाविधेशनले स्वीकार गरेको स्मरण गराउँदै पोखरेलले नेतृत्व हस्तान्तरणको प्रक्रियालाई कार्यान्वयन गरिनुपर्ने प्रस्ट्याएका छन्।

‘पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु,’ वक्तव्यमा भनिएको छ।

सुझावित समाचार