कोमामा सुशासन

कविता

आइतबार, ८ मंसिर, २०८२
डिजिटल संस्करण

चिसिएको छ मुटु 
मक्किएको छ भरोसाको धुरी खाँबाे
बाँझिँदै गएका छन् मनका गराहरू 
हेरेर 
तिम्रो ढोँगी शासन !

कैयन बाजी
उठेका हुन् बलिदानका ज्वारहरू
अन्ध शासनको पिञ्जरा तोड्न 
केहीले पाप बगाए 
केहीले असत् निमोठे 
र केही 
मरुभूमिमा 
मिराजजस्तै भ्रमित बने 
र 
सकिए आफैँ !

आजकल 
दुधको दुध र पानीको पानी 
छुट्याउन सक्दैन रजहाँस 
कैद भएको छ अदालतमा उसको सामर्थ्य 
र त
जेल तोडेर ताण्डव नाचिरहेको छ 
अपराध
खुला आकाशमा  !

दलालीमा गुज्रिरहेको छ समय
बुझ्दैन समर्पणको भाषा 
टाढा, धेरै टाढा 
छोडेर आमाको काख
जान बाध्य छन्  जुनकिरीहरू 
समृद्धिको पिलपिलाउँदो उज्यालो पनि आफैँसँग लिएर !

आँसु जमेर आँखामा 
पहाड बनिरहेको छ निराशाको 
देश बोक्ने काँधहरू 
ढलिरहेको दृश्यले !

खोक्रो आवरण ओढेर
सत्तामा बसिरहेको छ 
एक 
फूल प्लास्टिकको 
र
काढिरहेको छ उछितो 
सौन्दर्यवान सुवासित फूलबारीको !

रेटिरहेका छन् सामन्तहरूले
कुर्सीमा बसी 
देशको घाँटी 
काटेर ऊर्जावान् नादहरूका तार
चुँडाउँदै छ 
अन्यायले कर्मठताको सास !

दुखिरहेको छ मधेश 
खुम्चिएको छ पहाड
सुँक्क सुँक्क गरिरहेको छ हिमाल 
फुल्न छाडेका छन् 
निष्ठाका फूलहरू 
किनकि 
यो देशको सुशासन 
कोमामा गएको छ !
 

See More On

सुझावित समाचार