‘डिजिटल युग आए पनि लेखकको भूमिका फेरिएको छैन’

डिजिटल युग केवल प्राविधिक अवस्था हो, लेखक एउटा पुरानो अस्तित्व हो

शनिबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

साहित्यकार उदय प्रकाश कवि, कथाकार, पत्रकार एवं फिल्म निर्मातासमेत हुन् । जनपक्षीय दृष्टि, सामाजिक सरोकार र प्रखर आलोचनात्मक चेतका लागि उनी चिनिन्छन् । समतामूलक समाजका पक्षधर उनले आफ्ना सिर्जनामार्फत सत्ता–शक्तिहीनको आवाज मुखर गर्दै आइरहेका छन् । सन् १९५२ मा भारतको मध्यप्रदेशस्थित सीतापुरमा जन्मिएका उनका ‘पिली छतरी वाली लडकी’, ‘मोहनदास’, ‘तिरिछ’, ‘अबुतर–कबुतर’लगायत दर्जनभन्दा बढी कथा, कवितासंग्रह प्रकाशित छन् । नेपालीमा भने ‘मोहनदास’, ‘नेलकटर’ र ‘पहेंला छाता’ अनूदित छन् । ‘साहित्य अकादमी पुरस्कार’, ‘भारतभूषण अग्रवाल पुरस्कार’, ‘अन्तर्राष्ट्रिय पुस्किन सम्मान’, ‘सार्क राइटर्स अवार्ड’लगायत राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान पाइसकेका छन् । १४ कात्तिकमा गाजियावाद (एनसिआर)स्थित उनको निवासमा पुगेर मीनराज बसन्तले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंका अधिकांश रचनामा वञ्चनामा पारिएका पात्र मुखर भएर आउँछन् । त्यस्ता पात्र कसरी ल्याउनुहुन्छ ?
हाम्रो जीवन, हाम्रो अनुभव नै आफ्ना सिर्जनामा अभिव्यक्त हुने हो । मेरो जीवन कुनै ठुला अभिनेता वा राजनीतिज्ञको होइन । आमरूपमा दुनियाँभरका हरेक लेखकको सामाजिक परिवेश यस्तै हुने हो । दुनियाँका कुनै पनि रचना सामाजिक परिवेशभन्दा बाहिरको हुँदैन । यो एउटा परम्पराजस्तै हो । समाजको सबैभन्दा वञ्चित मानिससँग लेखक जोडिनैपर्छ । गान्धी त्यसलाई अन्तिम मानिस भन्थे, हामी त्यसलाई वञ्चित मानिस भन्छौँ । वञ्चित अर्थात् सत्ताहीन, पावरलेस । वञ्चित मानिससम्म न्याय डेलिभर हुँदैन । तपाईंले ‘मोहनदास’ पढ्नुभएको छ भने थाहा पाउनुहुन्छ कि न्याय भनेको कमोडिटी (वस्तु) हो । पैसा छ भने तपाईंको पक्षमा फैसला हुन्छ, छैन भने अन्याय हुँदाहुँदै पनि तपाईंलाई उल्टै अन्यायी घोषित गरिन्छ । यी धारणामाथि प्रश्न गर्नु नै लेखकको धर्म हो । 

तपाईं आफ्नो लेखनमा जातीय र वर्गीय मुद्दालाई प्रमुखताका साथ उठाउनुहुन्छ । आजका पाठकले यस्ता विषय के साँच्चै गम्भीरताका साथ पढिरहेका होलान्? 
यी विषयलाई पाठकले नपढेको भए किन यति चर्चा हुन्थ्यो ? कोही त्यत्तिकै लोकप्रिय भयो भन्ने लाग्दैन । त्यसको अर्थ पाठकले यस्ता मुद्दा बुझेका छन्, रुचाएका पनि छन् । तर, म यस्ता विषयलाई खासै महत्व दिन्नँ । तपाईंले जुन वर्ग र जातिबारे प्रश्न सोध्नुभयो म त्यसभन्दा पनि पर गएर हेर्छु । यी चिज साँच्चै हुन् के ? मेरो मान्यता छ– यी सबै कृत्रिम हुन् । त्यसो भए जाति कसले बनायो ? ठाकुर, यादव र पण्डितको कुवा हुन्छ । तर, यी कुवा कसले बनायो ? दलितले किन पानी पिउन पाउँदैन ? यी जो संहिता बने, ती कसले बनाए ? तपाईं जब यस्ता संहिता (नियम) सँग जोरी खोज्न थाल्नुहुन्छ, तब वर्गको अवधारणा राख्नेहरूले भन्नेछन् कि यसले गडबड गर्न थाल्यो । हामी आर्थिक रूपमा एकै वर्गका हौँ । यही वर्गभित्र उनीहरूले लडाइँ गराइरहेका छन् । मलाई लाग्छ, आज हामी जुन समयमा छौँ, १८९० पछि यसलाई सुरुमा पोस्ट मोडर्न टाइम्स भनियो । त्यो पोस्ट मोडर्न टाइम होइन । त्यसमा त ठुलो सभ्यताले छलाङ मार्यो र पुँजीको भूमिका परिवर्तन भयो । त्यसपछि नयाँ पुँजी आयो, जसलाई हामी ग्लोबल कर्पोरेट क्यापिटल भन्छौँ । प्रविधि पनि यस्तो आयो कि यसमा तपाईं पनि अनभिज्ञ हुनुहुन्छ अहिलेसम्म । अचानक यसको भाषा बदलियो । प्रविधिले अल्टर गरिदियो र सभ्यता परिवर्तन भयो । वर्गीय ढाँचा परिवर्तन भयो । जाति, यो पेसागत थियो । जस्तै– फलामको काम लोहारले गथ्र्यो, जुत्ताको काम मोचीले गथ्र्यो, युद्धको काम क्षेत्रीयले गथ्र्यो र बुद्धिको काम ब्राह्मणले गथ्र्यो । तर, अहिले पेसा बदलियो । हिजोआज ब्राह्मणले पनि जुत्ता बेचिरहेको हुन्छ । यसरी पेसा परिवर्तन भइरहेको छ, परिवर्तन गरिँदै छ । अब जातिका आधारमा पेसा रहेन । यसलाई अहिले राजनीतिले ‘होल्ड’ गरेको छ ।

जाति र वर्गलाई राजनीतिले ‘होल्ड’ गर्यो भन्नुभयो । त्यसोभए अहिले समाजमा असमानता बढ्दै छ कि घट्दै छ?
विषमता पक्कै बढेको छ, यसमा दुईमत छैन । धेरै अघिदेखि नै एक प्रतिशत भर्सेज ९९ प्रतिशतको लडाइँ चलिरहेको छ । अर्थात्, एक प्रतिशत मानिसले पृथ्वीका सम्पदामाथि आधिपत्य जमाए । त्यसको पनि ‘मल्टिप्लिेकेसन’ भयो । जसका कारण जी–२०, सार्क आदि छन् । हामी जनताले एउटा पोलिटिकल पार्टीलाई चुनेर सरकारमा पठायौँ । तर, स्रोतमाथि कब्जा जमाउने ‘मेटा गभर्मेन्ट’ले हामीले चुनेर पठाएको सरकारसँग सीधा डिल गर्छ । सरकारले ‘मेटा गभर्मेन्ट’को सेवा गर्छ । उनीहरूसँग टक्कर लिन सक्दैन । टक्कर लिने कोसिस गरेमा मलाई लाग्छ, त्यसको नतिजा भयावह हुन्छ । यस्तो अवस्था नेपालमा पनि छ, भारतमा पनि । मध्य एसिया र सेन्ट्रल युरोपमा पनि छ । यसरी विश्व फेरि एकपटक ‘बाइपोलर’ बनेको छ । पहिले जहाँ रुस थियो, अहिले त्यहाँ चीन छ । 

चीनले जहाजमार्फत विश्वमा महत्वपूर्ण काम गर्यो । पहिलोपटक उसले कामकाजी युवालाई ‘ह्युमन रिसोर्सेज’ (मानव संसाधन) मान्दै त्यसको भरपूर उपयोग गर्यो । यो मानव–पुँजीले उत्पादनको मूल्य घटाइदियो । अरू देशमा महँगो पर्ने वस्तु उसले सस्तोमा दिन थाल्यो । यो एउटा ठुलो परिवर्तन थियो । भारतमा दुर्भाग्य, यस्तो हुन सकेन । तपाईंले सोधेझैँ जातिका, वर्गका प्रश्न सोध्न थालियो, जो पैदा गरिएका प्रश्न थिए । मिथ्या चेतना पैदा गरियो । नयाँ–नयाँ मिथक बनाइयो । यसको परिणाम, धरतीसँग, वास्तविक जीवनसँग सम्बन्ध टुट्यो ।

चीनले परिवर्तन ल्यायो भन्नुभयो । तर, यस्तो किसिमको विकासले पर्यावरण ध्वस्त भयो पनि भनिन्छ नि !
हो, मानिसका आवश्यकता जसोतसो पूरा त भए । तर, धर्ती बाँझो रह्यो । सम्पदा मासियो । पर्यावरण नाश भयो । नदीनाला मासिए । जथाभावी उत्खनन गरियो । सास फेर्न मुस्किल भयो । तपाईं कसैलाई खाना दिन सक्नुहुन्छ । तर, हावा (अक्सिजन) दिन सक्नुहुन्न । हो, परिवर्तन गर्दै गर्दा यस्ता कुरामा ध्यान दिइएन ।

नेपाल–भारतमा मात्रै होइन, विश्वभर नै प्राकृतिक स्रोतको उत्खनन त भइरहेकै हुन्छ नि, होइन र ?
विश्वमा उत्खनन त हुन्छ । उदारहरणका लागि नदीलाई नौं लिऔं न । प्रत्येक नदीका दुई धार हुन्छन् । माथिको धारलाई इनर करेन्ट भनिन्छ । त्यसमुनि नदी बग्छ । मुनि बग्नेवाला धार जबसम्म रहन्छ, तबसम्म माथिल्लो धार सुक्दैन । तर, सय–सय फिट गहिरो खनेर बालुवा निकालेपछि नदी सुक्यो । यसरी कैयौँ नदीको हत्या गरियो, सोच्नुस् त एकपटक । यो भयावह आँकडा हो । हामी वाटर एजमा पनि छौँ । जसरी मानव सभ्यता या इतिहासको अवस्था हुन्छ, पानीको पनि हुन्छ । ‘हिस्ट्री अफ वाटर’को दोस्रो चरणमा छौँ र यो हालत देख्नुपरेको छ । यी र यस्ता चिजमा ध्यान दिन जरुरी छ । यदि हामीले पानी बचाउने हो भने अरू थुप्रै चिज बनाउन जरुरी छ । जजसले ‘हामी बाघ बचाउँछौँ’ भन्छन्, तिनीहरू साँच्चै झुट बोलिरहेका छन् । किनकि, उनीहरू बाघ बचाउँदै गर्दा घाँसबारे मौन छन् । यदि घाँस नै बचेन भनेर जीवजन्तु कसरी रहन्छन् ? जीव–जनावर नरहे बाघ के खाएर बाँच्छ ? यही कुरालाई राजनीतिले इग्नोर गरिरहेको छ । राजनीति अहिले पावर सेन्ट्रिक छ । पावर पुँजीसँग छ । उदाहरणका लागि कुनै आदिवासी वा दलितसँग आज पुँजी छ भने उससँग पावर पनि छ । अनि, जातीयताले त्यहाँ काम गर्दैन । यसरी परिवर्तन आइरहेको छ । तर, समय पछाडि बढ्छ या पछाडि फर्किन्छ भन्न सकिन्न । समय पछाडि पनि फर्किन सक्छ । मलाई लाग्छ, रिभर्स पनि भइरहेको छ ।

लेखक राजनीतिक रूपमा सक्रिय हुनु कति आवश्यक छ ?
यो त सम्बन्धित व्यक्तिको इच्छामा निर्भर हुन्छ । केही मानिस भन्छन्– राजनीतिमा अराजनीतिक हुनु पनि एउटा राजनीति नै हो । आधुनिकतासँगै यो ‘पोलिटिक्स’ यो ‘टर्म’ जन्मियो । यसको जो ‘इक्स’ छ, त्यो इथिक्सको ‘इक्स’ होइन । यस्तो अवस्थामा तपाईं कुन पोलिटिक्समा जानुहुन्छ ? भन्नुस् । 

प्रगतिशीलताबारे नेपालमा बहस भइरहन्छ । यसलाई कसरी हेर्नुहुन्छ ?
प्रेमचन्दले भनेका थिए, ‘लेखक स्वभावैले प्रगतिशील हुन्छ ।’ प्रगतिशीलको अर्थ प्रगतिशील लेखक संगठन होइन । जो–जो भविष्यतर्फ बढ्दै मानव सभ्यता वा पृथ्वीलाई हेर्छ, बुझ्छ त्यो नै प्रगतिशील हो । यो होइन कि ऊ कुनै संगठनको सदस्य हो । महात्मा गान्धी कहिल्यै कंग्रेसका सदस्य थिएनन् । तर, गान्धी नभएको भए कंग्रेस पनि हुँदैनथ्यो । गान्धीकै कारण कंग्रेस बँचिरह्यो । 

तपाईंको लेखनको उद्देश्य अभिव्यक्ति, प्रतिरोध र संवादमध्ये कुन हो ?
अभिव्यक्ति । अभिव्यक्तिले नै संवाद र प्रतिरोध गर्न सक्छ । कुनै वेला समर्थन र प्रतिरोधका लागि संवादहीनता पनि हुन सक्छ ।

लेखनमा सधैँ समाज, समाज भनेर रटान लगाइन्छ । त्यो समाज कहाँ छ ? कस्तो छ ?
लेखक रोला बार्थका अनुसार कुनै चिज यस्ता पनि छन्, जसलाई कसैले चिन्दैन, कहिल्यै देखेको पनि हुँदैन । तीन चिज म पनि भन्छु, जसलाई मानिसले कहिल्यै देखेन । पहिलो हो, ईश्वर । राम, कृष्ण, अल्लाह, जिजस जे भने पनि के कसैले आजसम्म यिनलाई देख्यो ? दोस्रो, जनता र तेस्रो, समाज । कति समाज छन्, कति मानिस छन्, कति ईश्वर छन्/छैनन्, कसैले देख्यो त ? कसैले ‘तपाईंको सामाजिक भूमिका के ?’ भनेर सोध्छन् । अरे, भाइ, यहाँ थुप्रै समाज छन्, तिमी कुनचाहिँ समाजको कुरा गर्दै छौ ? क्रिकेट खेलाडीको आफ्नै समाज छ । क्रिकेट लभर्सको आफ्नै छ । रेसलर्सको आफ्नै समाज छ । हरेक जातिको भिन्दाभिन्दै समाज छ । जो समाजभन्दा बाहिर छ, जो निर्वासित छ, उसको पनि समाज छ । तिमी कुन समाजको कुरा गर्दै छौ । समाज त बन्छ, बिग्रिन्छ, फेरि बन्छ । फेरि नष्ट हुन्छ र बनिरहन्छ ।

तपाईं संगीतमा पनि निकै रुचि राख्नुहुन्छ । साहित्य र संगीतको सम्बन्धबारे केही बताइदिनुस् न । 
साइन्सको अन्तिम लक्ष्य म्याथमेटिक्स भनेझैँ साहित्यको अन्तिम लक्ष्य हो, संगीत । गणित त अमूर्त हुन्छ । तर, साहित्यमा संगीत हुन्छ । संगीतमा सुर हुन्छन् । त्यहाँ कुनै ठाकुर, दलित, ब्राह्मण भन्ने हुँदैन । ती सुर मिस गर्नुभयो भने सप्तक (संगीत) बन्दैन । तर, त्यहाँ तपाईं झगडा गर्न सक्नुहुन्न । एउटा औँला मात्रै चलाउनुभएन भने पनि संगीत समाप्त हुन्छ । हो, साहित्यको काम पनि ठिक यस्तै हुन्छ ।

लेखन साधना हो कि संघर्ष ?
कुनै दर्जीसँग सोधौँ– सिलाइ साधना हो कि संघर्ष ? चराचुरुंगीलाई सोधौँ– तिम्रो बोली साधना कि संघर्ष ? मानौँ, ब्रह्माले सृष्टि गर्यो– यो साधना थियो कि संघर्ष ? कुमालेले घडा बनाउँछ– साधना कि संघर्ष ? साधना र संघर्ष त फगत सोधिने प्रश्न मात्रै हुन् । यसको ठोस उत्तर हुन सक्दैन । लेखन एक किसिमले खाना बनाउनुजस्तै हो । यसले तपाईंको सहभागिता र प्रक्रिया खोज्छ । तपाईं एउटा भाषाभित्र विभिन्न विषयवस्तु एकत्रित गरेर एक–एक वाक्य बनाउनुहुन्छ । तिनै वाक्य मिलेर रचना बन्छ । अब यो साधना कि संघर्ष ? यो त कला हो, सिर्जनशीलता हो, सिर्जनात्मकता हो । 

डिजिटल युग सुरु भएपछि कतिपयले पुस्तकको युग सकियो, अब कसैले पुस्तक पढ्दैन । पुस्तक नपढेपछि लेखकको पनि काम सकियो भन्दै छन् नि !
डिजिटल युग केवल प्राविधिक अवस्था हो । मलाई लाग्छ, लेखक एउटा पुरानो अस्तित्व हो । उदाहरणका लागि, २०औँ शताब्दीको तेस्रो दशकमा टिभी र रेडियो दुवै आइसकेका थिए । तर, टिभी मास प्रोडक्सनमा थिएन । न थियो, पहुँचयोग्य । त्यसलाई रोकिएको पनि थियो, जसका पछाडि अनेक कारण थिए । मानिसहरू रेडियो आयो भने गडबड हुन्छ भन्न थाले । यसले मानिसलाई एक–अर्कासँग बोलचाल बन्द गराइदिन्छ भने । नभन्दै मानिस आपसमा कुराकानी गर्नुको साटो रेडियो सुन्न थाले । तर, जब टेलिभिजन आयो, मानिस फेरि भन्न थाले, अब यसले अन्धो बनाउने भयो । किनकि, तिनै मान्छे एक–अर्कालाई नहेरेर टिभी हेर्न थाले । प्रविधि आउँदा त्यसका केही सामाजिक विसंगति पनि सँगसँगै आउँछन् । तर, लेखक त त्यतिवेला पनि थियो, जतिवेला ऊ रेडियो पनि सुन्थ्यो, टिभी पनि हेथ्र्यो, राजनीति पनि गथ्र्यो, मानिससँग कुराकानी गथ्र्यो, दौडिन्थ्यो, खेल्थ्यो । त्यसैले फेरि भन्छु, लेखक हुनु पुरानो अस्तित्व हो । तपाईंले भनेझैँ डिजिटल एज नयाँ अवस्था हो । तर, लेखकको भूमिका उही हो, जुन पहिले थियो । त्यसमा कुनै परिवर्तन आएको छैन । हुन सक्छ, अब तपाईं ‘स्पिच टु टेक्स’ गर्नुहुन्छ । कलमबाट किबोर्डमा सिफ्ट हुन सक्नुहुन्छ । यस्ता साना कुरामा परिवर्तन आउन सक्छ । तर, लेखकको भूमिका उस्तै र उही हुन्छ ।

एआईजस्ता प्रविधिले कत्तिको हस्तक्षेप गर्लान् ?
एउटा लेखकका नाताले मैले एआईलाई बुझ्ने कोसिस गरेँ कि आगामी दिनमा के हुन्छ ? यसको प्रयोग अलग–अलग भइरहेको पाउँछु । चीनकै सांघाई प्रान्तमा एआईको प्रयोग जे प्रयोजनका लागि भइरहेको छ, त्यहाँ अन्य प्रान्तका बिल्कुल भिन्न प्रयोजनका लागि प्रयोग भइरहेको छ । त्यसैगरी, जापानमा, क्यालिफोर्नियामा, भारतमा, नेपालमा पनि फरक–फरक तरिकाले एआई प्रयोग भइरहेको छ । सांघाई औद्योगिक सहर हो । त्यहाँ कति कामदार छन्, तीमध्ये कतिले कति काम गरे/गरेनन्, कसले कसलाई भड्काइरहेको छ भन्ने निगरानी गर्न एआई प्रयोग गरिएको छ । एआईका माध्यमबाट उनीहरू माइन्ड रिडिङ गर्छन् । त्यसपछि मार्क गर्छन्, चेतावनी दिन्छन् कि यो त गलत हो । त्यसपछि जागिरबाट निकालिदिन्छन् । यसको असर म्यानेजमेन्टमा पर्छ । त्यही एआई जापानमा फरक उद्देश्यका लागि प्रयोग हुन्छ । एआईबाट ठुला मानवीय कर्म पनि नभएका होइनन् । यसकै प्रयोगमार्फत कतिले एक्लोपन महसुस गर्न पाएका छैनन् । यी सबका बाबजुद निसाना लगाउने काम पनि सँगसँगै भएका छन् । २०औँ शताब्दीको सुरुवात वा त्यसभन्दा अगाडिका १४औँ, १५औँ शताब्दीलाई हेर्नुस् । जब–जब विषमता बढ्यो, तब–तब त्यसको प्रतिरोध भएको छ । त्यही प्रतिरोधले चिजहरू परिवर्तन भएका छन् । लोकतन्त्रको जन्मकै कुरा गर्ने हो भने फ्रान्सको राज्यक्रान्तिसँग जोड्न सकिन्छ । १९१७ को अक्टोबर क्रान्तिसँग जोड्न सकिन्छ । भारतको क्रान्तिलाई पनि जोड्न सकिन्छ ।

यो पनि पढ्नुहोस्>>> बौद्धिकताले लेख्ने  राइटर हो, हृदयले लेख्ने अथर हो

सुझावित समाचार