इतिहासमा आज

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

सन् १९८८ : बेनेजिर भुट्टो पाकिस्तानकी प्रधानमन्त्री बनिन् । मुस्लिम देशको पहिलो महिला प्रधानमन्त्री बनेकी भुट्टोले १९८८ देखि १९९० सम्म शासन गरेकी थिइन् । उनी सन् १९९३ देखि १९९६ सम्म दोस्रोपटक पनि प्रधानमन्त्री बनेकी थिइन् ।

सन् १८६९ : युरोप र एसियालाई विनापानीजहाज जोड्ने स्युज नहरको निर्माण कार्य सन् १८६९ मा सम्पन्न भएको थियो । रेड सी र भूमध्यसागरलाई जोड्ने सो नहर निर्माण गर्न १० वर्ष लाग्यो ।

सन् १९४५ : राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) राष्ट्र संघको एउटा अभिन्न अंगका रूपमा स्थापना भयो । युनेस्कोले शिक्षा, वैज्ञानिक सहकार्य र सांस्कृतिक आदानप्रदानमार्फत विश्वमा शान्ति र भलाइका लागि काम गर्छ । पेरिस मुख्यालय रहेको युनेस्कोका १९५ देश सदस्य छन् ।

सन् १९७३ : वाटरगेट काण्डका सन्दर्भमा आजकै दिन तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले पत्रकार सम्मेलन गरी आफू निर्दोष भएको बताएका थिए ।

सन् १९७३ : एथेन्समा तत्कालीन सेनाको जुन्ता सरकारविरुद्ध पोलिटेक्निक क्याम्पसका विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । १७ नोभेम्बरमा ट्यांकसहित क्याम्पस पुगेको सेनाले अन्धाधुन्द लाठी प्रहार गर्यो । क्रान्तिको स्मरणमा अहिले पनि हरेक नोभेम्बर १७ मा देशमा विभिन्न कार्यक्रम मनाइन्छ ।

सन् १९८८ : तत्कालीन सोभियत युनियनबाट इस्टोनियाले सार्वभौमसम्पन्न देश भएको घोषणा गर्यो । सिंगिङ क्रान्तिको एउटा अंशको रूपमा घोषित सो कानुनले सोभियत कानुनमाथि प्रभुत्व जमाएको थियो । हरेक १६ नोभेम्बरलाई इस्टोनियाले सार्वभौमसत्ता घोषणा वर्षको रूपमा मनाउँछ ।

सन् २००१ : प्रसिद्ध पुस्तक ह्यारी पोटरमा आधारित चलचित्र निर्माण भयो । ह्यारी पोटर उपन्यासका लेखक जे के रोलिङ हुन् । 
 

सुझावित समाचार