राजनीतिक विश्लेषक प्रा. लोकराज बराललाई ३ प्रश्न

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

 पार्टीलाई सबल बनाउन कांग्रेसले महाधिवेशन चुनावअघि गर्नुपर्छ कि चुनावपछि ?
पार्टीलाई बचाउने हो र मतदातासामु आशा र विश्वास जगाउने हो भने कांग्रेसले ‘यदि वा तर’ नभनी चुनावअघि नै महाधिवेशन गर्नुपर्छ । तर, माथिल्लो तहमा बसेर पार्टी सत्तामाथि कब्जा जमाइरहेका सीमित नेताहरूको स्वार्थका कारण उनीहरू यो महाधिवेशन जतिसक्दो लम्ब्याउन चाहन्छन् । अहिले अगाडि देखिएका कांग्रेसका ‘परीक्षित’ अनुहारहरूबाट अब पार लाग्दैन । आगामी चुनावमा जाँदा ‘फ्रेस’ अनुहार लिएर जानुपर्छ । त्यसका लागि चुनावअघि नै महाधिवेशनमा जानु कांग्रेसका लागि उत्तम विकल्प हो । यस्तै अवस्थामा अहिलेकै नेतृत्वलाई अघि लगाएर निर्वाचनमा गए कांग्रेसलाई ठुलो क्षति हुन्छ । यतिखेर एमाले, माओवादीजस्ता दलले चुनावअघि नै महाधिवेशन गर्न सक्छन् भने कांग्रेसले किन सक्दैन ? आखिर महामन्त्रीले त कार्यतालिका प्रस्तुत गरिसक्नुभएकै छ । ५४ प्रतिशत कार्यकर्ताले हस्ताक्षर गरेको अवस्थामा चार–पाँचजना नेताले रोक्न खोजे पार्टी अकल्पनीय दुर्घटनामा पर्न सक्छ । 

जेन–जी विद्रोहको मर्मअनुसार कांग्रेस सच्चिन सक्ने सम्भावना कति देख्नुहुन्छ ?
नसच्चिई त धरै छैन । पछि सच्चिउँला भनेर समय छैन । समय घर्किसक्यो । अघिल्लो महाधिवेशनले चुनेको कार्य समितिको पदावधि पनि सकिँदै छ । सोही अवधिभित्र महाधिवेशन गर्न सके सबैतिर राम्रो सन्देश जान्छ । त्यसैले, यही मेसोमा सच्चिन सके सिंगो कांग्रेसका लागि राम्रो हुन्छ । सच्चिन नचाहेमा पार्टी धेरै कमजोर हुन्छ ।

अहिलेकै अवस्थामा कांग्रेस एकढिक्का भएर चुनावमा जाला र मतदाताले पत्याउलान् त ?
अहिलेकै अवस्थामा त कांग्रेस एकढिक्का भएर चुनावमा जानै सक्दैन । त्यहाँ केही न केही विद्रोह अवश्यै हुन्छ । नेताहरूले समय र परिस्थिति बुझ्न सकेनन् भने मतदाताले कांग्रेसको विकल्प खोज्न सक्छन् ।   

सुझावित समाचार