एन्फाले आज खेलाडीसँग छलफल गर्ने

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग गराउन सडक आन्दोलन गरिरहेका खेलाडीसँग आइतबार छलफल गर्ने भएको छ । चार वर्षमा एकपटक मात्र ‘ए’ डिभिजन लिग आयोजना भएपछि नेपाल खेलाडी संघको नेतृत्वमा खेलाडीहरू आन्दोलित छन् । गत शुक्रबार खेलाडीहरूले समाधान निकाल्न सात दिनको चेतावनी दिएका थिए । एन्फा प्रवक्ता सुरेश साहले माग सम्बोधन गर्नका लागि खेलाडीसँग वार्ता आह्वान गरिएको बताए ।

‘सडक प्रदर्शनमा व्यक्त माग, ‘ए’ डिभिजन तथा राष्ट्रिय लिगसँग सम्बन्धित कुरालाई संवादमार्फत सम्बोधन गर्ने उद्देश्यले वार्ता बोलाइएको छ,’ उनले भने । गत १७ कात्तिकमा एन्फा र १४ ‘ए’ डिभिजन क्लबका अध्यक्षबिच भएको बैठकले ३ पुस ०८३ देखि ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने सहमति गरेको थियो । उनीहरूले लिगको सट्टामा आगामी ९ पुसदेखि राष्ट्रिय लिग आयोजना गर्ने निर्णय गरेपछि खेलाडीहरू आक्रोशित बनेका हुन् ।

चार वर्षपछि मात्र लिग हुने सम्भावना देखिएपछि खेलाडीहरूले गत बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सबाहिर विरोध प्रदर्शन गर्दै आफ्नो माग राखेका थिए । खेलाडीहरूले प्रदर्शनका क्रममा आफ्नो माग पूरा नगरे कडा संघर्षमा उत्रिने चेतावनी दिएका थिए । पछिल्लोपटक भएको ‘ए’ डिभिजन लिग ०७९ मा चर्च ब्वाइज युनाइटेडले उपाधि जितेको थियो । त्यसयता लिग नियमित रूपमा लिग सञ्चालन भएको छैन । 

एन्फाले हाल शीर्ष डिभिजनका ६ क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र, नेपाल पुलिस, जावलाखेल युथ, सातदोबाटो युथ र न्युरोड टिमलाई समेटेर राष्ट्रिय लिग आयोजना गर्ने योजना सार्वजनिक गरेको छ ।

See More On

सुझावित समाचार