मधेश प्रदेशको राजनीतिक खिचातानीलाई कसरी हेर्नुभएको छ ?
यसअघि सबैभन्दा मजाको राजनीति त कोशीमा देखिएको थियो । सुदूर पश्चिममा पनि यस्तै छिनाझप्टी नदेखिएको होइन । अहिले मधेशको मात्र होइन, राष्ट्रिय राजनीतिमै यही रोग फैलिएको छ । कस्तो र कुन पार्टी बनाउने, कुन पार्टी छाड्ने र कुन पार्टीमा जाने भन्ने दौडादौड चलिरहेको छ । नेताहरूमा इमानजमान नभएपछि हुने यही हो । राजनीतिक रूपमा जवाफदेही हुन नपर्नेहरूले यस्तो नौटंकी गरिरहन्छन् । सबैलाई मन्त्री पद चाहिएको छ । त्यसैले, उनीहरू कहिले कता त कहिले कता उछलकुद गरिरहन्छन् । त्यसैको परिणाम हो, मधेशको पछिल्लो राजनीति ।
जेन–जी विद्रोहको धक्कापछि पनि यस्तो खेल देखिनुले के संकेत गर्छ ?
विगतमा राजाले ‘टेक ओभर’ गरेपछि नेताहरू आफूहरू सच्चिने वाचासाथ कान समाएर जनतासामु गएका होइनन् ? केपी ओलीले संसद् भंग गर्दा सडकमा गएर फेरि गल्ती नगर्ने कसम खाएका होइनन् ? त्यसैले, हाम्रा दल र तिनका नेताहरूलाई जेन–जी आन्दोलनले छुँदैन । उनीहरूका लागि यो नौलो होइन । दलहरूलाई जेन–जी आन्दोलनले सुध्रने ठुलो अवसर दिएको हो । तर, उनीहरू सुध्रिने छाँटकाँट छैन । यसको उदाहरणमा कांग्रेसमा देखिएको महाधिवेशन कहिले भन्ने विवाद र एमालेमा सुनिएको ओलीको हुंकार नै काफी छैन र ? सबैमा पार्टी सत्ता आफ्नो कब्जामा रहन्छ कि रहँदैन, सत्तामा पुगिन्छ कि पुगिन्न भन्ने मात्र चिन्ता छ ।
यस्तो खिचातानीले प्रदेश खारेज हुनुपर्छ भन्नेहरूलाई बल दिँदैन ?
प्रदेशहरूमा भइरहेको खिचातानीले संघीयताप्रति नकारात्मक सन्देश दिन्छ । सिंगो देशभर यही अवस्था छ । नेताहरू सुध्रिने छाँटकाँट छैन । नेता नसुध्रिएसम्म यस्तै हो ।