इस्तानबुलमा भएको अफगानिस्तान–पाकिस्तानबिचको शान्तिवार्ता विफल भएको छ । वार्ता विफल भएसँगै दुई देशले एक–अर्कालाई आरोप–प्रत्यारोप लगाएका छन् । अफगानिस्तानले टर्की र कतारको मध्यस्थता प्रयासका बाबजुद पाकिस्तानले प्रगतिमा बाधा पुर्याएको र गैरजिम्मेवारपूर्ण व्यवहार गरेको आरोप लगाउँदै कडा शब्दमा विज्ञप्ति जारी गरेको छ ।
नोभेम्बर ८ मा जबिहुल्लाह मुजाहिदले जारी गरेको आधिकारिक स्पष्टीकरणमा तालिबान सरकारले ‘टर्की गणतन्त्र र कतारले वार्ता आयोजना र मध्यस्थता गरेकोमा कृतज्ञतासमेत व्यक्त गरेको छ । पाकिस्तानले मुद्दालाई ‘गम्भीर र रचनात्मक रूपमा’ सम्बोधन गर्ने अपेक्षाका साथै अफगान प्रतिनिधिले नोभेम्बर ६ र ७ मा छलफलमा भाग लिएको तर नतिजा विनानिष्कर्ष टुंगिएको तालिबानले दाबी गरेको छ ।
पाकिस्तानले फेरि एकपटक आफ्नो ‘गैरजिम्मेवार र असहयोगी मनोवृत्ति’ प्रदर्शन गरेको काबुलको दाबी छ । ‘इस्लामाबादले अफगानिस्तानको सुरक्षा वा आफ्नै सुरक्षाको जिम्मेवारी लिन कुनै चासो देखाएको छैन,’ विज्ञप्तिमा भनिएको छ । नेतृत्वको निर्देशनमा काम गर्ने अफगान प्रतिनिधिमण्डलले ‘आधारभूत समाधान’ खोज्ने आशाका साथ वार्तामा प्रवेश गरेको थियो, तर पाकिस्तानको व्यवहारले छलफललाई निष्फल बनाएको काबुलको भनाइ छ ।
इस्लामाबादको अडानको निन्दा गर्दै तालिबानले आफ्नो ‘सैद्धान्तिक अडान’ दोहोर्याउँदै अफगानिस्तानले कसैलाई पनि आफ्नो माटो अर्को देशविरुद्ध प्रयोग गर्न नदिने बताएको छ ।