नेपाल बालसाहित्य समाजका अध्यक्ष तथा बाल साहित्य सर्जक विजयराज आचार्यका बालकथाहरुमा आधारित रहेर भारतको कोलकाताका सर्जक अतनुकुमार बसुले तयार पारेको समीक्षात्मक कृति र बालसाहित्य सर्जक उर्मिला ढुंगानाले लेखेको बालकविता संग्रह 'मिठा मिठा तरकारीहरु' शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकाबिच सार्वजनिक गरिएको छ ।
'विजयराज आचार्य : स्टोरिज फर चिल्ड्रेन : अ क्रिटिकल इस्टिमेसन' मा आचार्यका अंग्रेजीमा अनुवादित ४० बालकथा, तीनका पात्र, कथाका सन्देश र मर्मलाई अतनुकुमार बसुले बोधगम्य शैलीमा समीक्षा तयार पारेका हुन् । यसैगरी ढुंगानको 'मिठा मिठा तरकारीहरु' साना बालबालिकालाई विभिन्न प्रकारका तरकारीसँग परिचित गराउने हेतुले तयार पारिएको बालकविता संग्रह हो ।
किताबमा ३३ थरी तरकारीबारे ३३ वटा कविता समावेश छन् । नेपाल बालसाहित्य समाजका उपाध्यक्ष विजयराज न्यौपानेले दुवै कृतिका लेखकबारे परिचय गराउँदै शुभकामना मन्तव्य दिए भने अर्का सर्जक माधव घिमिरे 'अटल'ले विजयराज आचार्यको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्दै विजयराज आचार्य १०० भन्दा बढी बालपुस्तकका लेखक, अनुवादक, सम्पादकका साथै ट्रेनरका रुपमा देशभरका विभिन्न स्थानमा पुगी बालबालिकालाई तालिम दिँदै आएको उल्लेख गर्दै आचार्य 'नेपाली बालासाहित्यको फ्याक्ट्री' भएको बताए ।
'मिठा मिठा तरकारी'बारे समीक्षात्मक टिप्पणी गर्दै डा.विष्णु केसीले उक्त किताबले बालबालिकालाई सधैं खाइरहने तरकारीबारे जानकारी हुने बताए । किताबबाट तरकारीका औषधीय गुण, रुपरंग र आकारबारेसमेत बालबालिकाले जानकारी हासिल गर्न सक्ने उनले बताए । समाजमा बिर्सिइँदै जान थालेका तरकारीबारे लेखिका ढुंगानाले खोजी खोजी जानकारीहरु ल्याइदिएको उनकाे भनाइ थियाे ।
किताबमा तरकारी मात्र नभई प्रकृति र तरकारी उत्पादनको श्रमको पाटोसमेत उजागर गरिएकाे उनले बताए । भाषाका हिसाबले उक्त किताब दुई कक्षादेखि चार–पाँच कक्षाका बालबालिकालाई उपयुक्त हुने उनले बताए ।
त्यस्तै, कार्यक्रममा डा. बुनु दाहाले लेखिका ढुंगानालाई नयाँ कृतिका लागि शु्भकामना व्यक्त गर्दै उक्त किताब साना बालबालिका र अभिभावकका लागि निकै महत्त्वपूर्ण हुने बताइन् । उक्त कार्यक्रममै अतनुकुमार बसुले 'इम्प्याक्ट अफ वार अन चिल्ड्रेन' विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले इजरायल–प्यालेस्टाइन–गाजा नरसंहार, भारत–पाकिस्तान युद्ध आदिको उदाहरण दिँदै जति पनि युद्ध भएका छन् तीनमा मुख्यत:बालबालिका त्यसको सिकार भएको उल्लेख गरे ।
युद्धका बेला बालबालिका र शैक्षिक संस्थालाई कुँज्याइने गरेको उनले बताए । संसारभर हुने युद्धमा ७० देखि ८० प्रतिशत सर्वसाधारण त्यसको सिकार हुने र अझ त्यसमा पनि बालबालिका र महिलाहरु अझ बढी त्यसबाट प्रभावित हुने उनले बताए । ठूला–ठालूहरुको गल्तीको सजाय अबोध बालबालिकाले पाइरहेको सन्दर्भ उल्लेख गर्दै उनले निर्दोष बालबालिकाको बालापन र जीवन खोसिएको स्पष्ट पारे ।
यता, बसुको कार्यपत्रमाथि टिप्पणी गर्दै सर्जक महेश पौड्यालले बसुको कार्यपत्रमा अझै केही मिहिनेत परेमा त्यो संसारको जुनसुकै स्थानबाट जर्नलमा स्थान पाउने बताए । विश्वभर ४० प्रतिशत बालबालिका रहेको र उनीहरु गैरमतदाता भएको हुँदा उनीहरु सधैं राजनीतिज्ञ र युद्धको चेपुवामा पर्ने गरेको उनकाे भनाइ थियाे ।
मानिसकाे चिन्तनबाट हराउँदै जान थालेको कुरालाई प्रकाश पारेकोमा उनले लेखक बसुलाई धन्यवादसमेत दिए । उनले नेपाल र बंगाली साहित्यबिचको सम्बन्धबारेसमेत प्रकाश पारेका थिए ।
यस्तै, कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाल बालसाहित्य समाजका पूर्वअध्यक्ष प्रमोद प्रधानले विजयराज आचार्यका कृतिमाथिको समीक्षात्मक किताबले नेपाली बालसाहित्य १३० वर्षे इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय ढोका खोलेको बताए । नेपाली बालसाहित्यकार र बालसाहित्यबारे अन्तर्राष्ट्रिय लेखकका रुपमा बसुबाट पहिलोपटक कुनै किताब लेखिएको उनले बताए ।
त्यस्तै, कार्यक्रमकी सभापति सर्जक सिर्जना शर्माले तरकारीबारे ढुंगानाको महत्त्वपूर्ण कृति आएको र कार्यपत्रका रुपमा आएको युद्ध र बालबालिका विषयक छलफलले युद्धलाई निरुत्साहित गर्नुपर्ने कुरालाई आह्वान गरेको बताइन् ।
कार्यक्रममा लेखक अतनुकुमार बसुकी श्रीमती पम्पा बुसु र पुत्री अनुस्मिता बसुलाईसमेत फूलमालाले सम्मानित गरिएको थियो । आचार्यको किताब महेश पौड्यालले सम्पादन गरेका हुन् भने विवेक सिर्जनशिल प्रकाशन प्रालिले किताबलाई छापेको हो ।
मिठा मिठा तरकारीमा प्रज्ज्वल थापा मगरका चित्रहरु समावेश छन् भने अनुष्का सुवेदी किताबकी प्रकाशक हुन् । दुवै कृतिको बजार मूल्य ३५० रुपैयाँ तोकिएको छ । दुवै कृति र सर्जकमाथि टीका–टिप्पणी र समीक्षासहित कार्यक्रम सम्पन्न गरिएको छ ।