जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २४ करोडबराबरको क्षति भएको छ।
गत २४ भदौमा भएको घटनाका क्रममा अख्तियारमा आगजनी, तोडफोड र चोरी भएका थिए। कार्यालयमा भएको क्षतिको मूल्यांकन गरेर अख्तियारले प्रहरीमा जाहेरीसमेत हालेको छ।
मंगलवार जिल्ला प्रहरी परिसर, काठमाडौंमा क्षतिको दाबीसहित जाहेरी हालेको अख्तियारले जनाएको छ। यो क्षति अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंस्थित टंगालकोमात्र हो। आन्दोलनकारीहरूले अख्तियारको केन्द्रीय कार्यालयभित्र छिरेर आगजनी, तोडफोड र चोरी गरेका थिए।
आन्दोलनकारीहरूले अख्तियारको मुख्य भवन, सवारीसाधन र कम्प्युटरलगायतका सामानमा आगजनी र तोडफोड गरेका थिए। अख्तियारका काठमाडौंबाहिरका आठवटा कार्यालयमध्ये आधा संख्याका कार्यालयमा पनि क्षति पुगेको छ।
अख्तियारका इटहरी, हेटौँडा, पोखरा र बुटवल कार्यालयमा पनि आन्दोलनकारीहरूले क्षति पुर्याएका छन्। यसको पनि क्षति मूल्यांकन भइरहेको अख्तियारले बताएको छ।