मेलबर्न । नेपाल र अस्ट्रेलियाबिच सिधा हवाई सम्पर्क स्थापना, आर्थिक साझेदारी विस्तार तथा जलवायु सहकार्यलाई थप अघि बढाउने विषयमा छलफल भएको छ। मेलबर्नमा बिहीबार भएको नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबिचको द्विपक्षीय भेटवार्तामा दुई देशबिचको सम्बन्धका विविध पक्षबारे विचार आदान–प्रदान भएको हो।
भेटवार्ताका क्रममा अस्ट्रेलियाले हालै बाढीबाट प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ। यसअघि अस्ट्रेलियाले आपतकालीन प्रतिकार्यका लागि ११ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको थियो। नयाँ सहयोग राहत, प्रारम्भिक पुनर्लाभ तथा पुनर्निर्माणका प्रयासमा केन्द्रित रहने जनाइएको छ।
अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै विपतपछिको उद्धार, पुनर्लाभ र पुनर्निर्माणका प्रयासमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताइन्।
परराष्ट्रमन्त्री खनालले संकटका वेला अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गरे। उनले यस्तो सहयोगले दुई देशबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाएको बताए।
जलवायु सहकार्य विस्तारमा जोड
भेटवार्तामा नेपाल र प्रशान्त क्षेत्रका मुलुकहरूले जलवायु परिवर्तनका कारण भोगिरहेका साझा जोखिमबारे पनि छलफल भएको थियो। मन्त्री खनालले आगामी कोप–३१ को सन्दर्भमा हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारिरहेको असमान र गम्भीर प्रभावलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा उठाउन अस्ट्रेलियासँग आग्रह गरे।
उनले जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपत् जोखिम न्यूनीकरण, विपत् तयारी तथा जलवायु–उत्थानशील पूर्वाधार निर्माणमा नेपाल–अस्ट्रेलिया सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।
शिक्षा र विद्यार्थीका विषयमा पनि छलफल
दुई मन्त्रीबिच शैक्षिक सहकार्य विस्तारका विषयमा समेत छलफल भएको छ। नेपालमा अस्ट्रेलियाबाट मान्यताप्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम (टिभिइटी) संस्था स्थापना गर्ने तथा अस्ट्रेलियाली विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस नेपालमा स्थापना गर्ने विषयमा पहल अघि बढाउने सम्भावनाबारे विचार आदानप्रदान भएको जनाइएको छ।
मन्त्री खनालले अस्ट्रेलियाको बहुसांस्कृतिक समाज र अर्थतन्त्रमा नेपाली विद्यार्थी तथा डायस्पोराले पुर्याउँदै आएको योगदानको उल्लेख गर्दै विद्यार्थी भिसासम्बन्धी नीतिगत परिवर्तनका क्रममा वास्तविक र योग्य नेपाली विद्यार्थीका लागि अनुकूल तथा न्यायोचित व्यवस्था गर्न आग्रह गरे।
व्यापार, लगानी र हवाई सम्पर्क प्राथमिकतामा
भेटवार्तामा नेपाल–अस्ट्रेलिया आर्थिक साझेदारीलाई थप विस्तार गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो। व्यापार तथा प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन प्रवर्द्धन र श्रम गतिशीलतालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल भएको छ।
यसैगरी, नेपाल र अस्ट्रेलियाबिच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा समेत छलफल भएको छ। प्रत्यक्ष हवाई सम्पर्कले दुई देशबिच पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।
अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालसँगको साझेदारीलाई आगामी दिनमा थप सुदृढ गर्न अस्ट्रेलिया प्रतिबद्ध रहेको बताइन्। उनले प्राथमिकताका क्षेत्रमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्। दुवै पक्षले उच्चस्तरीय नियमित आदानप्रदानलाई निरन्तरता दिने तथा भेटवार्तामा भएका समझदारीलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न निकट सहकार्य गर्ने सहमति जनाएका छन्।