धनगढी । बजेट प्रस्तुत गर्नका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक आगामी शनिबारसम्म सरेको छ। आज बिहान ८ बजेका लागि आह्वान गरिएको बैठक स्थगित गरेर शनिबार बिहान ८ बजे सारिएको हो। यसअघि बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि हिजो बेलुकी ५ बजे आह्वान गरिएको बैठक आजलाई सारिएको थियो।
यही २४ गते बिहान ८ बजे बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवराज बोगटीले जानकारी दिएका छन्। उक्त बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले बजेट पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
करिब तीन महिनादेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिममा सरकारले यसअघि सदनमा प्रस्तुत गरेको बजेट पुनर्लेखन गरेर ल्याउने तयारी गरेको छ। यहीबिचमा बुधबार सर्वोच्च अदालतले प्रदेशको बजेटसम्बन्धी रिटमा कारण देखाऊ आदेश जारी गरेपछि सरकार बजेट रोक्ने कानुनी परामर्शमा जुटेको थियो। यद्यपि, बजेट रोक्न अन्तरिम आदेश अदालतले दिएको छैन।
अघिल्लो बजेट पारित वा अस्वीकृत नभई पुनः अर्को बजेट ल्याउन लागिएको भन्दै त्यसविरुद्ध अधिवक्ता मिनिराम उपाध्यायले रिट दायर गरेका थिए। अन्तरिम आदेश माग गरिएको सन्दर्भमा अदालतले शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। सुदूरपश्चिमको बजेटको विषय अब सर्वोच्चको दिने आदेशमा निर्भर रहने देखिएको छ।
तत्कालीन आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले गत १ असारमा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेश सभामा पेस गरेका थिए। तर, कांग्रेस–एमालेको सत्तागठबन्धन टुटेर सरकार अल्पमतमा परेसँगै असार मसान्तभित्र बजेट पारित हुन सकेन। बजेट पारित नभएपछि १ साउनदेखि सुदूरपश्चिम बजेट शून्यतामा छ।
गत २९ साउनमा गठन भएको नयाँ सरकारले त्यही बजेटलाई पुनर्लेखन गरेर ल्याउने तयारी गरिरहेको छ। तर, बजेट भागबन्डालाई लिएर सत्तापक्षमा पनि विवाद रहेको छ।