‘काठमाडौं उपत्यकाको वायुको गुणस्तर खराब’

बिहिबार, २२ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ काठमाडौं उपत्यकाका ५२.३ प्रतिशत बासिन्दाहरूले आफ्नो स्थानीय वायुको गुणस्तरलाई खराबदेखि अति खराबको रूपमा मूल्यांकन गरेका छन् । 

ताजा इनिसिएटिभ नेपालद्वारा काठमाडौं उपत्यकाका १,२०० बासिन्दाहरूमाझ गरिएको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणअनुसार उपत्यकाका प्रमुख सहरी केन्द्रहरू ललितपुरमा ६०.९ प्रतिशत, काठमाडौंमा ५९.२ प्रतिशत, र भक्तपुरमा ५६.० प्रतिशत स्थानीय वायुको गुणस्तरलाई नकारात्मक रूपमा मूल्यांकन गरेका छन् । 

सवारीसाधन र यातायातका धुवाँलाई ९८.६ प्रतिशत उत्तरदाताहरूले वायु प्रदूषणको प्रमुख स्रोतको रूपमा पहिचान गरेका छन् । जबकि ९४.८ प्रतिशतले सडक निर्माणको धुलोलाई एक कारक मानेका छन् । 

वायु प्रदूषणबाट आफ्नो बचाउ गर्न ८२.० प्रतिशत उत्तरदाताहरूले सर्जिकल मास्क वा स्कार्फमा भरपर्ने बताएका छन् । यद्यपि, ४३.४ प्रतिशतले वायु प्रदूषणबाट आफूलाई बचाउन कुनै पनि व्यक्तिगत कदम नचालेको बताएका छन् । 

वायु प्रदूषणले उपत्यका छाड्ने दबाबमा पनि व्यक्तिहरू रहेको पाइएको छ । उपत्यका छाड्ने विचार गरिरहेका ७.२ प्रतिशत उत्तरदाताहरूमध्ये ३९.१ प्रतिशतले वायु गुणस्तरलाई एक कारकको रूपमा औँल्याएका छन्, जुन आर्थिक दबाब र महँगी (४७.८ प्रतिशत)पछि दोस्रो स्थानमा छ । 

सुझावित समाचार