धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र पठाएका हुन् ।
प्रदेश प्रमुख मियाँले मुख्य न्यायाधिवक्ता जोशीको राजीनामा आजै स्वीकृत गरेको प्रदेश प्रमुखका स्वकीय सचिव साबिर अलीले जानकारी दिए । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा जोशी २८ साउन ०८१ मा प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए ।
कांग्रेस नेतृत्वको सरकार हुँदा तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई गत साउन २८ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । सत्तासमीकरण फेरिएर नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार गठन भएको झन्डै दुई महिनापछि उनले राजीनामा दिएका हुन् । त्यसअघि शाह पहिलोपटक मुख्यमन्त्री हुँदा पनि जोशी मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए ।