काठमाडौं । नेपाल प्रहरीले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना–२०८३’ लागू गरेको छ। चाडपर्वका क्रममा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरिने भएको छ।
नेपाल प्रहरीले चाडपर्वका समयमा ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, नक्कली नोटको कारोबार तथा अवैध हुन्डीलगायतका गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेको छ। अन्तर्राष्ट्रिय सीमानाकाबाट अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ तथा लागुऔषधको ओसारपसार र तस्करी रोक्नसमेत विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित सातै प्रदेशबाट ५० हजार ४५८ प्रहरी परिचालन हुनेछन्। काठमाडौं उपत्यकामा सात हजार ६६८, कोशी प्रदेशमा आठ हजार १३३, मधेश प्रदेशमा सात हजार २३०, बागमती प्रदेशमा चार हजार ४९९, गण्डकी प्रदेशमा पाँच हजार १८८, लुम्बिनी प्रदेशमा सात हजार ९२१, कर्णाली प्रदेशमा पाँच हजार ३१४ र सुदूरपश्चिम प्रदेशमा चार हजार ५०५ प्रहरी परिचालन हुनेछन्।
४०८ स्थानमा यात्रु सहायता कक्ष
लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रु तथा सडक सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ। देशभरका विभिन्न स्थानमा ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरी एक हजार १६५ प्रहरी परिचालन गरिएको छ।
यात्रु सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउने, हराएका तथा भेटिएका व्यक्ति र सामानको समन्वय गर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता गर्ने र यात्रुको गुनासो तत्काल सम्बन्धित प्रहरी कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।
यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरी थप ७०५ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
सवारीसाधन जाँचमा कडाइ
काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनका चालकको सवारीचालक अनुमतिपत्र, मादक तथा लागुऔषध सेवन, सिट क्षमताअनुसार यात्रु राखे–नराखेकोलगायतका विषयमा जाँच गरिनेछ।
लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए–नभएको यातायात सञ्चार प्रणालीमार्फत जाँच गरिनेछ। प्रत्येक सवारीसाधनको यान्त्रिक परीक्षण गरिएको प्रमाणपत्रसमेत जाँच गरिने प्रहरीले जनाएको छ।
आधुनिक प्रविधिबाट सुरक्षा निगरानी
चाडपर्वको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरीले निगरानी क्यामेरा, शरीरमा लगाइने क्यामेरा, ड्रोन, तालिमप्राप्त कुकुर तथा प्रहरी सञ्चार प्रणालीको प्रयोग गर्ने भएको छ।
सामाजिक सञ्जालमा प्रवाह हुने सूचनाको समेत निगरानी तथा विश्लेषण गरी आवश्यकताअनुसार प्रहरी परिचालन गरिनेछ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले परम्परागत सुरक्षा शैलीसँगै प्रविधिमा आधारित निगरानीलाई विशेष प्राथमिकता दिइएको बताए।
उनका अनुसार काठमाडौं उपत्यकालगायत देशभरका प्रमुख सहरमा चाडपर्वका क्रममा कुनै अप्रिय घटना हुन नदिन विशेष सुरक्षा योजनाअनुसार प्रभावकारी रूपमा प्रहरी परिचालन हुनेछ।
अनलाइन ठगीबाट सचेत रहन आग्रह
चाडपर्वको अवसरमा आकर्षक उपहार, चिट्ठा तथा विशेष छुटको प्रलोभन देखाएर हुन सक्ने अनलाइन ठगी नियन्त्रणका लागि प्रहरीले नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रहरीले एकपटक प्रयोग हुने गोप्य संकेत, व्यक्तिगत पहिचान नम्बर, गोप्य शब्द, बैंकिङसम्बन्धी गोप्य विवरण तथा अन्य संवेदनशील जानकारी कसैलाई पनि नदिन आग्रह गरेको छ।
त्यस्तै, शंकास्पद विद्युतीय लिंक, संकेतचित्र, चिठ्ठा तथा अनलाइन पर्व विशेष प्रस्तावमा विश्वास नगर्न र कृत्रिम बुद्धिमत्ताबाट बनाइएको आवाज वा भिडियो प्रयोग गरी आफन्त वा अधिकारीको नाममा आउने असामान्य रकम माग्ने सन्देशप्रति सचेत रहन आग्रह गरिएको छ।
बजारदेखि धार्मिक स्थलसम्म उच्च निगरानी
काठमाडौं उपत्यकालगायत प्रमुख सहरका मुख्य बजार, किनमेल केन्द्र, बैंक तथा वित्तीय संस्था, बसपार्क, सार्वजनिक यातायात केन्द्र, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल, मनोरञ्जन क्षेत्र, मुख्य सडक तथा चोक र सहरका प्रवेश तथा निकास नाकामा विशेष प्रहरी परिचालन गरिनेछ।
सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखिएको छ। स्थानीय सुरक्षा संवेदनशीलताका आधारमा कमान्ड पोस्ट तथा द्रुत प्रतिक्रिया टोली परिचालन गरिने प्रहरीले जनाएको छ।
सीमानाकामा हुने अवैध गतिविधि तथा तस्करी नियन्त्रणका लागि पैदल तथा मोबाइल गस्ती, ग्रामीण गस्ती र मुख्य सडकमा गरिने संयुक्त गस्तीलाई थप प्रभावकारी बनाइनेछ।
घर छाडेर जाँदा सावधानी अपनाउन आग्रह
लामो समयका लागि घर छाडेर जाँदा झ्यालढोका, ग्यास तथा विद्युत् राम्रोसँग जाँच गर्न र घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रहरीले आग्रह गरेको छ।
भिडभाडमा नगद, गरगहना तथा महँगा मोबाइल बोक्दा विशेष सावधानी अपनाउन, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी नचलाउन र ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।
प्रहरीले बालबालिका तथा ज्येष्ठ नागरिकलाई भिडभाडमा एक्लै नछोड्न तथा जुवातास, अवैध सट्टेबाजी र लागुऔषधबाट टाढा रहनसमेत आग्रह गरेको छ।
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी मात्र नभई नागरिक, स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायको समेत साझा जिम्मेवारी रहेको नेपाल प्रहरीले जनाएको छ।
शंकास्पद वा आपराधिक गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको आधिकारिक सम्पर्क माध्यममा जानकारी गराउन प्रहरीले नागरिकलाई अनुरोध गरेको छ।
नेपाल प्रहरीले ‘सूचना, प्रविधि, प्रहरी परिचालन र नागरिक सहकार्य’लाई मुख्य आधार बनाउँदै चाडपर्वका लागि सुरक्षा व्यवस्था मिलाएको जनाएको छ।