काठमाडौं । लिखित र ट्रायलविनै जापानमा रहेका व्यक्तिलाई सवारी लाइसेन्स दिएको आरोपमा अख्तियारले यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको छ।
यातायात कार्यालयका कर्मचारी र प्रहरीको मिलेमतोमा विदेशमा रहेका व्यक्तिलाई विनापरीक्षा लाइसेन्स दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
यातायात कार्यालयको सरकारी निकायका कागजात अभिलेखमा अनाधिकार एवं गैरकानुनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने र हेरफेर गरी परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा अख्तियारले मुद्दा चलाएको हो।
वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहेका व्यक्तिलाई परीक्षामा सहभागी नै नभएको अवस्थामा लिखित र ट्रायल उत्तीर्ण गराई एक्स्काभेटरको लाइसेन्स जारी गरेको खुलेको अख्तियारको आरोप छ। २५ मंसिर ०७७ देखि ८ भदौ ०८३ सम्म जापानमै रहेको देखिएको ती व्यक्तिलाई १७ कात्तिक ०७८ मा विनालिखित र ट्रायल लाइसेन्स दिइएको थियो।
त्यस्तै, लिखित परीक्षामा अनुत्तीर्ण देखिएका परीक्षाफल संशोधनको अभिलेख खडा गरी अरू तीनजनालाई एक्स्काभेटरकै र चारजनालाई लोडरको लाइसेन्स जारी गरेको देखिएको छ। ट्रायलमा सहभागी भएको झुट्टा अभिलेख तयार गरी लिखित परीक्षामा सहभागी नभएका पाँचजनालाई पनि एक्स्काभेटरको लाइसेन्स दिइएको थियो। यसरी १३ जनाको नाममा सवारी लाइसेन्स जारी गरेको पुष्टि भएको आधारमा अख्तियारले मुद्दा दायर गरेको छ।
अख्तियारले यातायात कार्यालय रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादव, तत्कालीन मेकानिकल सुपरभाइजर यादवप्रसाद अर्याल, तत्कालीन अधिकृत (सातौँ) तुल्सिराम अधिकारी र तत्कालीन अधिकृत (छैटाैँ)विरुद्ध मुद्दा दायर गरेको छ। त्यस्तै, रुपन्देहीका तत्कालीन प्रहरी नायब उपरीक्षक डिल्लिीनारायण पाण्डेय, तत्कालीन प्रहरी निरीक्षक गणेश ज्ञवाली र तत्कालीन प्रहरी नायब निरीक्षक हुमानन्द खनाल पनि मुद्दाका प्रतिवादी छन्।