कृषिविज्ञ उद्धव अधिकारीलाई ३ प्रश्न

सोमबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

धान भित्र्याउने वेलामा वर्षाले सताउनुले कृषि क्षेत्रमा कस्तो प्रभाव पार्ला ?
अत्यन्त ठुलो नकारात्मक प्रभाव परिरहेको छ । प्राकृतिक तथा मानवसिर्जित अनेकौँ समस्याको घेराबाहिर छैन हाम्रो कृषि क्षेत्र । धान रोप्ने वेलामा खडेरी र अहिले वर्षाका कारण हाम्रा किसानहरू ठुलो मर्कामा छन् । एकातिर प्रकृतिले दिनदिनै नेपाली किसानलाई सताउँदै छ भने अर्कातिर बजारले पनि तिनै किसानलाई नै निमोठिरहेको छ । सबैतिरबाट मारमा परेका किसानको पीडामा हाम्रा तीनै तहका सरकार फड्के किनाराका साक्षी बनिरहेका छन् । 

प्राकृतिक विपत्तिमा तीनै तहका सरकारले गर्नुपर्ने चाहिँ के थियो ?
हाम्रा तीन तहका सरकारको त के कुरा गर्नु ? उतिखेर धान रोप्ने समय असार, साउनमा पर्याप्त वर्षा नभएपछि सरकारका मन्त्रीहरू हेलिकोप्टर चढेर बोरिङ खन भन्दै हिँडे । तर, कहाँ–कहाँ बोरिङ खनियो, त्यसबारे भने कसैले चासो दिएन । त्यसबाट हाम्रा किसान कति लाभान्वित भए, त्यसबारे कसैले फर्केर हेरेन । यस्ता जलवायुजन्य विपत्ति बढ्दै छ । बाली बिमा किसानलाई बचाउने एउटा महत्वपूर्ण कदम हुनसक्थ्यो । तर, तीनै तहका सरकारले चासो नदिँदा पछिल्लो चार महिनाको अवधिमा जम्मा साढे चार सयजतिले मात्र बिमा गराएका छन् । किसानका समस्या र पीडाप्रति तीनै तहका सरकार बेखबर छन् । 

सरकारले तोकेको समर्थन मूल्यमा बजारले किन्ने अवस्था छ कि छैन ? 
सरकारले धानको समर्थन मूल्य ३६ सय तोके पनि बजारको मनोमानीका कारण किसान २५ सयमा बेच्न विवश छन् । सरकारले खाद्य कम्पनी लिमिटेडमार्फत धान किन्न पर्याप्त बजेट व्यवस्था गरी बजारलाई हामीले तोकेको मूल्यमा तिमीहरूले किसानको धान खरिद गरेनौ भने हामी नै किन्छौँ भन्न सक्नुपथ्र्यो । तर, व्यापारीले सस्तोमा धान किनेर महँगोमा चामल बिक्री गर्दा पनि राज्य रमिते बनिरहेको छ । यसले गर्दा नेपालको कृषि पेसा नै संकटमा पर्दै गएको छ । 

सुझावित समाचार