नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण नजिकिँदै गर्दा सहभागी आठ टोलीले आफ्नो तयारी तीव्र बनाएका छन् । मार्कीसहित नेपाली खेलाडी अक्सनबाट प्राप्त गरिसकेका छन् । अब सहभागी टिमले विदेशी खेलाडी मात्रै अनुबन्ध गर्नेछन् । विदेशी खेलाडी सार्वजनिक गर्न अहिले सहभागी टिमबिच होडबाजी चलेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता मंसिर १ बाटै गर्ने योजना बनाएको छ । सोहीअनुसार शनिबारसम्म आठमध्ये सात टिमले कम्तीमा एक विदेशी खेलाडी अनुबन्ध गरेका छन् । एक टिमले चारसम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।
काठमाडौं गोर्खाजले अहिलेसम्म कुनै विदेशी खेलाडी सार्वजनिक गरेको छैन । सबैभन्दा धेरै पहिलो संस्करण प्लेअफ खेलेका चितवन राइनोजले तीन तथा कर्णाली याक्स र विराटनगर किंग्सले समान दुई विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् । त्यसबाहेक डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स, उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले समान एक खेलाडी अनुबन्ध गरेका छन् ।
बोसिस्टोले कर्णाली याक्सबाटै खेल्ने
अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले दोस्रो सिजनमा पनि कर्णाली याक्सबाटै खेल्ने भएका छन् । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले बोसिस्टोलाई निरन्तरता दिएको जानकारी गराएका थिए । बोसिस्टो कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाटलाई भित्र्याएको थियो । पहिलो संस्करणको उनको प्रदर्शन प्रभावशाली रहेको थियो । ३२ वर्षीय बोसिस्टोले सात खेलमा दुई अर्धशतकसहित एक सय ९४ रन बनाउनुका साथै नौ विकेट लिएका थिए । एनपिएको तयारीमा व्यस्त कर्णालीले दोस्रो संस्करणमा पनि ज्ञानेन्द्र मल्ललाई नै निरन्तरता दिएको छ । बोसिस्टोले सन् २०१२ मा भारत च्याम्पियन हुँदा अस्ट्रेलियालाई आइसिसी यू–१९ विश्वकपमा उपविजेता बनाएका थिए ।
स्कट कुगेलेइन सुदूरपश्चिममै
साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनका लागि पनि न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइनलाई अनुबन्ध गरेको छ । उनी सुदूरपश्चिम भित्रिने पहिलो विदेशी खेलाडी हुन् । कुगेलेइनले पहिलो सिजनमा टोलीलाई फाइनलसम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । १७ विकेटका साथ उनी संयुक्त रूपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए । सुदूरपश्चिमका मालिक स्वत्रन्त्रप्रताप शाहले कुगेलेइनलाईको अनुभवले टोलीको बलिङ आक्रमणलाई थप मजबुत बनाउनुका साथै ब्याटिङमा पनि महत्वपूर्ण टेवा पुग्ने बताए ।
मिलान्था जनकपुरमै
पहिलो सिजन जनकपुरलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका लाहिरू मिलन्थाले पुन: जनकपुरबाटै खेल्ने भएका छन् । दोस्रो सिजनमा पनि जनकपुरले श्रीलंकन मूलका अमेरिकी विकेटकिपरलाई निरन्तरता दिएको हो । आसिफ शेख मार्की रहेको जनकपुरले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो । प्रतियोगिताको सर्वाधिक रन बनाएका मिलन्थाले १० खेलमा दुई अर्धशतकसहित दुई सय ९३ रन बनाएका थिए ।
पोखरामा इंग्लिस ब्याटर
पहिलो संस्करण सानदार प्रदर्शन गर्न नसकेको पोखरा एभेन्जर्स यसपटक फरक योजनासहित प्रतियोगिता खेल्दै छ । सोहीअनुसार उसले इंग्ल्यान्डका ३२ वर्षीय अनुभवी विकेटकिपर तथा ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गर्यो । शीर्षक्रमका ब्याटर रोसिङटनले इंग्लिस काउन्टीमा मिडलसेक्स, नर्थह्याम्पटनसायर र एसेक्सबाट सयभन्दा बढी पहिलो श्रेणीको खेल खेलेका थिए । उनीसँग इंल्यान्डबाहिर पाकिस्तानको कराँची किंग्सबाट पाकिस्तान सुपर लिग, दक्षिण अफ्रिकाको एसए–२० मा सनराइजर्स इस्टर्न केप, तथा युएईको आइएलटी–२० मा दुबई क्यापिटल्सबाट खेलेको अनुभव छ । पहिलोपटक नेपालमा व्यावसायिक क्रिकेट खेल्न आउन उत्साहित भएको उनले बताएका छन् ।
पहिलोपटक एनपिएल खेल्दै वाट
फ्रेन्चाइज टोली कर्णाली याक्सले स्टकल्यान्डका बलर मार्क वाटलाई अनुबन्ध गरेको छ । दोस्रो संस्करणमा उनी कर्णालीमा अनुबन्ध हुुने पहिलो विदेशी खेलाडी हुन् । २९ वर्षीय वाटले ७७ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा ८९ विकेट लिएका छन् । उनले पहिलोपटक एनपिएल खेले पनि नेपाली खेलाडीका लागि परिचित अनुहार हुन् । गत संस्करण दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले मार्की सोमपाल कामीसहित गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरीलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ । यसैगरी टोलीले मिनी अक्सनबाट पवर सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
डार्सीले लुम्बिनीबाट खेल्ने
पहिलो सिजन बिर्सनलायक प्रदर्शन गरेको लुम्बिनी लायन्सले दोस्रो एनपिएलका लागि अस्ट्रेलियन ब्याटर डार्सी सर्टलाई अनुबन्ध गरेको छ । डार्सीले अस्ट्रेलियाबाट सन् २०१८ देखि २०२० सम्म ट्वान्टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । बायाँहाते ओपनिङ ब्याटर डार्सीसँग इन्डियन प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिगजस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ । ३५ वर्षीय डार्सीको आगमनले लुम्बिनीको ब्याटिङ लाइनअप थप मजबुत हुने अपेक्षा गरिएको छ । पहिलो सिजन रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी अंकतालिकाको पुछारमा रहेको थियो ।
चितवनमा तीन खेलाडी अनुबन्ध
पहिलो संस्करण प्लेअफ खेलेको चितवन राइनोजले दोस्रो संस्करणमा सबैभन्दा पहिला तीन खेलाडी अनुबन्ध गरेको छ । उसले पहिलो संस्करण खेलेका इंग्ल्यान्डका रवि बोपारा र पाकिस्तानका सोहेल तान्विरलाई दोस्रो संस्करणमा पनि निरन्तरता दिएको हो । पहिलो संस्करणमा दुवैले सानदार प्रदर्शन गरेका थिए । दोस्रो संस्करणका लागि इंग्लिस ब्याटर डेविड मलानलाई अनुबन्ध गरेको छ । ३८ वर्षीय बायाँहाते ब्याटर मलानले ६२ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतक र १६ अर्धशतकसहित एक हजार आठ सय ९२ रन बनाएका छन् । इंल्यान्डले सन् २०२२ मा टी–२० विश्वकपको उपाधि जित्दा मलान टोलीको सदस्य थिए । यसैगरी उनले सन् २०२३ मा एकदिवसीय विश्वकप पनि खेलेका थिए ।
विराटनगरमा दुई खेलाडी
विराटनगर किंग्सले दोस्रो संस्करणका लागि अस्ट्रेलियन अलराउन्डर साम हिजलेटलाई अनुबन्ध गरेको छ । हिजलेटले अस्ट्रेलियाका लागि एक मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले सन् २०१७ मा न्युजिल्यान्डविरुद्ध खेलेका थिए । यसैगरी उनीसँग ब्रिसबन हिट र होबर्ट हुरिक्यान्सबाट बिग ब्यास लिग खेलेको पनि अनुभव छ । विराटनगरको मार्कीमा नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने छन् । यसअघि टोलीले स्कटल्यान्डका जर्ज मुन्सेसँग सम्झौता गरेको थियो । ३२ वर्षीय बायाँहाते ब्याटर जर्जले देशका लागि ८१ टी–२० आईमा दुई हजार तीन सय दुई रन बनाएका छन् ।