विराट कोहलीले तोडे अर्काे रेकर्ड

शनिबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

भारतीय क्रिकेटर विराट कोहलीले क्रिकेटमा अर्काे रेकर्ड तोडेका छन्। एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी दोस्रो नम्बरमा उक्लिएका छन्। श्रीलंकाका कुमार सांगाकारालाई पछि पार्दै उनी दोस्रो स्थानमा उक्लिएका हुन्। 

अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा उनले शनिबार सांगाकाराको रेकर्ड तोडेका हुन्। सांगाकाराले १४ हजार २ सय ३४ रन बनाएकोमा कोहलीले शनिबार त्यो रेकर्ड तोडेर तेस्रो स्थानबाट दोस्रो स्थानमा उक्लिएका हुन्। 

एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको पहिलो नम्बरमा भारतकै सचिन तेन्दुलकर छन्। उनले १८४३६ रन बनाएका थिए। करिअरको अन्तिम समयमा रहेका कोहलीले सचिनको रेकर्ड तोड्न भने सहज छैन। ३०५ ओडिआई खेलेका विराटले १४२५५ रन बनाएका छन्। 

अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीयमा कोहलीले अर्धशतक बनाए। यसअघिका दुई खेलमा उनी ० रनमै आउट भएका थिए। तेस्रो ओडिआईमा उनले ७४ रनको अविजित पारी खेले। 

साथै, अस्ट्रेलियाविरुद्ध २५०० रन बनाउने उनी तेस्रो भारतीय क्रिकेटर पनि बनेका छन्। 

सचिन तेन्दुलकरपछिका भारतकै सबैभन्दा सफल क्रिकेटर मानिएका विराटका नाममा क्रिकेटमा अनेक रेकर्ड छन्। तर, पछिल्लो समय उनको फर्म खस्किएको छ। कोहलीले टेस्ट र टी–२० क्रिकेटबाट सन्न्यास लिइसकेका छन्। 

रोहित शर्मा र विराट कोहलीबिचको १६८ रनको अविजित साझेदारीमा तेस्रो ओडिआईमा भने भारतले नौ विकेटले सहज रूपमा जित निकालेको छ। पहिलो र दोस्रो ओडिआई अस्ट्रेलियाले जितेको थियो। अस्ट्रेलियाले २–१ ले सिरिज जितेको छ। 

सुझावित समाचार