नेपाल संस्कृत विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा. नीलमणि ढुंगानालाई ३ प्रश्न

सोमबार, ४ कार्तिक, २०८२
डिजिटल संस्करण

तिहारको धार्मिक–सांस्कृतिक महत्वबारे बताइदिनुहोस् न !
हाम्रा धर्मशास्त्रमा जीवनमा जानी–नजानी गरिएका पापकर्मबाट मुक्तिका लागि वर्षभरिका विभिन्न चाडपर्वमा देवीदेवताको पूजा–आराधना गर्ने विधिविधानबारे उल्लेख पाइन्छ । तिहार पनि तिनैमध्ये एक अत्यन्त महत्वपूर्ण पर्व हो । विशेषगरी, प्रकृतिको पूजा हुने यस पर्वमा काग, कुकुर, गाई, गोरुजस्ता विभिन्न प्राणीको सम्मानपूर्वक पूजा गरिन्छ । धनधान्यकी देवी लक्ष्मीमाताको पूजाआराधना गरिने हुनाले यस पर्वको विशेष महत्व रहेको देखिन्छ । यमराजको पूजा गरी दिदीबहिनीले दाजुभाइको दीर्घायु तथा सुस्वास्थ्यको कामना गरिने हुनाले यस पर्वको अलग्गै महत्व छ । 

तिहारले हाम्रो समाजलाई जोड्न कस्तो भूमिका खेलेको ठान्नुहुन्छ ?
प्रकृतिसँगको सामीप्यलाई उजागर गर्ने तिहार पर्वको विशेष सामाजिक महत्व रहेको छ । काग, कुकुर, गाई, गोरुलगायत प्राणीको पूजाआजा गर्नुको अर्थ हाम्रो समाजमा तिनको विशेष महत्व रहेको संकेत पनि हो । साथै, कृषिकर्मसित प्रत्यक्ष जोडिने गोरुको पूजाले एकातिर भगवान् शिवको वाहनको सम्मान र अर्कातिर कृषि संस्कृतिको संरक्षण र संवद्र्धनको समेत संकेत गरेको पाइन्छ । दाजुभाइ र दिदीबहिनीबिचको सामाजिक सुसम्बन्धलाई विशृंखलित हुन नदिई बलियो सामाजिक बन्धनमा बाँध्ने काम पनि तिहारले गर्ने हुनाले यसको विशेष सामाजिक महत्व रहेको अनुभूत गर्न सकिन्छ । 

तिहार र देउसी–भैलोको सम्बन्ध के हो ?
खासगरी देउसी–भैलो पनि सामाजिक सम्बन्धकै विशिष्ट रूप हुन् । पहिलेपहिलेका राजामहाराजाले युद्धका लागि धन जम्मा गर्न तिहारको अवसरमा आफ्ना सैनिकलाई सर्वसाधारणको घरघरमा पठाई देउसीभैलो खेलेर आर्थिक सहयोग संकलन गर्ने गर्थे । त्यसले अहिलेसम्म फरक स्वरूपमा निरन्तरता पाउँदै आएको हो । देउसीभैलोको चलन नेपाल र नेपालीमाझ मात्र प्रचलित छ । उतिखेरका राजामहाराजाका लागि युद्धका लागि धन संकलन गर्ने माध्यम भएजस्तै अहिले तिहारको समयमा खेलिने देउसी–भैलोमार्फत समाज उत्थानको प्रयोजनार्थ आर्थिक संकलन गर्ने गरेको पनि पाइन्छ । त्यसैले, देउसी–भैलो पनि सामाजिक सम्बन्धकै भिन्न रूप हुन् ।

सुझावित समाचार