सरकार गठनको एक महिनापछि आज कूटनीतिक ‘ब्रिफिङ’ गर्दै प्रधानमन्त्री

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

अन्तरिम सरकार गठनको एक महिनापछि प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई सम्बोधन गर्न लागेकी छिन् । परराष्ट्रमन्त्रीको नियुक्ति भएलगत्तै कूटनीतिक ब्रिफिङको तयारी भए पनि मन्त्रिपरिषद्मा ढिलाइ भएपछि परराष्ट्रमन्त्रीको हैसियतमा प्रधानमन्त्री कार्की आफैँले नै शुक्रबार ‘ब्रिफिङ’ गर्न लागेकी हुन् । बिहीबार सरकार गठनको एक महिना पूरा भएको छ ।

नेपालमा रहेका युरोपियन युनियन तथा २६ मुलुकका राजदूतहरूलाई परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबार बोलाएको छ । परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कूटनीतिक ‘ब्रिफिङ’को तयारी भइरहेको बताए । ‘काठमाडौंस्थित कूटनीतिक समुदायलाई प्रधानमन्त्रीका तर्फबाट निमन्त्रणा गरिएको छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘जेन–जी आन्दोलनपछिको परिस्थिति र सरकारका प्राथमिकताबारे सम्बोधन गर्ने तयारी छ ।’

हरेक ठुलो परिवर्तनलगत्तै सरकारले काठमाडौंमा रहेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई आफ्नो घरेलु र बाह्य सम्बन्धको प्राथमिकताबारे जानकारी दिने चलन रहँदै आएको छ । सम्बोधनमा विशेषत: आगामी २१ फागुनमा गर्ने चुनावका लागि समर्थन गर्न प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्ने सम्भावना छ ।

प्रधानमन्त्री कार्कीले सरकारले सुशासनलगायतका विषयमा गर्दै आएको कार्य र अबको प्राथमिकता पनि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनेछिन् । सम्बोधनमा प्रधानमन्त्री कार्कीले सरकारले लोकतान्त्रिक मूल्यपद्धतिसहित लोकतन्त्र, समावेशीकरण र विधिको शासनप्रति प्रतिबद्धता दोहोर्याउने छिन् । प्रधानमन्त्री कार्कीले यसबिचमा भारतीय, चिनियाँ र अमेरिकी राजदूतहरूसँग छलफल गरिसकेकी छिन् । 

सुझावित समाचार