एन्फा विवाद : महासचिव राईलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

बिहिबार, ३० असोज, २०८२
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष पंकजविक्रम नेम्वाङ साउदी अरेबियामा रहेका कारण खड्का एन्फाका कार्यवाहक अध्यक्ष बनेका हुन् । उनले बुधबार कार्यवाहक अध्यक्षका रूपमा आफ्नै महासचिव राईलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनेका छन् । खड्काले तोकिएको समयभित्र स्पष्टीकरण प्राप्त नभए संस्थाको नियमअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

खड्काले राईविरुद्ध विभिन्न विषयमा जवाफ मागेका हुन् । ‘एन्फाको जिम्मेवार पद रहेर संस्थाकै बदनाम गराउने, संस्थाको मूल मर्मविपरीत खेलाडीको भावनामाथि आघात पुर्याउने र एन्फाको सर्वोच्च निकायको निर्णयलाई समेत एकतर्फी रूपमा परिमार्जन गरी संस्थालाई दुर्घटनातर्फ लैजानेजस्तो गम्भीर अपराधजन्य कार्य गरेको देखिन्छ । यस विषयमा तीन दिनभित्र जवाफ दिनुहोस्,’ कार्यवाहक अध्यक्ष खड्काले भने ।

यसका साथै साधारणसभाबाट बजेटसमेत पारित भइसकेको अवस्थामा लिग नगराउनुको कारण तीन दिनभित्र दिन भनिएको छ । ‘साधारणसभाबाट अनुमोदित कार्यक्रम परिमार्जन गरी सिंगो नेपाली फुटबलको संरचनालाई ध्वस्त बनाउने कार्य कुन अधिकारको प्रयोग गरी गर्नुभएको हो ? २८ असोजमा कार्यसमितिलाई जानकारीसमेत नगराई ‘होम एन्ड अवे’ लिग नहुने भनी गरिएको पत्रकार सम्मेलनले फुटबल समर्थक, खेलाडी, प्रशिक्षक, रेफ्री, सम्पूर्ण सरोकारवाला र अन्तर्राष्ट्रियस्तरमा समेत बदनाम हुने गरी सार्वजनिक भएको धारणाका कारण समग्र एन्फालाई बदनाम बनाएको छ,’ स्पष्टीकरणमा राईलाई सोधिएको छ ।

एन्फाको विधानअनुसार अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले कार्यभार सम्हाल्नेछन् । सोही नियममा रहेर खड्काले राईलाई स्पष्टीकरण सोधेका हुन् । महासचिव राईले मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिग ‘होम एन्ड अवे’ अनुसार एन्फाले गराउन नसक्ने जानकारी दिएका हुन् । उनले लिगको स्वरूप राष्ट्रिय लिग हुने बताए । एन्फा निर्वाचनतर्फ केन्द्रित हुँदा घटनाक्रमले पनि नयाँ मोड लिन थालेको छ । नेम्वाङ तीन वर्षअघि निर्वाचित भएदेखि कार्यसमिति विवादमुक्त राख्न सकेका छैनन् । तीन वर्षअघि एकै प्यानलबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष खड्का पहिलो महिनाबाटै अलग भएका थिए । नेम्वाङको चारवर्षे कार्यकाल आगामी असारमा सम्पन्न हुँदै छ । 

See More On

सुझावित समाचार