यस्तो होस् भोलिको भक्तपुर

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण
  • सेनाले हडपेको कमलपोखरी नगरपालिकाले फिर्ता ल्याएर पहिलेकै जस्तो बनायो । यस्तो कामले निरन्तरता पाओस् ।

भक्तपुरका तेजेश्वरबाबु ग्वंग: अनेक नामले परिचित छन् । शिक्षक हुँदै प्रशासकसमेत भएका उनी निबन्धकार, कवि, लेखक र संस्कृतिविद् हुन् । ९२ वर्षमा हिडिँरहेका उनी यो समयमा पनि कवितासंग्रहको तयारी गर्दै छन् । विभिन्न पत्रपत्रिकामा लेख्ने काम उनले अझै छाडेका छैनन् । घरभित्रै पनि लौरोको सहारामा बाँचिरहेका उनको दैनिकी पत्रपत्रिका पढेर सुरु हुन्छ । विभिन्न क्षेत्रका व्यक्तित्वसँग उनको भेटघाट उस्तै छ । उनलाई धेरैले भक्तपुरको अभिभावकका रूपमा पनि लिन्छन् । जीवन शताब्दीछेउ पुग्दै गर्दा भक्तपुरबारे उनले शान्ति तामाङसँग केही भोलिका अपेक्षा र केही विगतका स्मृति सुनाएका छन् : 

विसं १९९० ताका भक्तपुर हरियो फाँटको सहर थियो । धान, गहुँ, मकै फल्थ्यो । काँक्रो, घिरौला, पाटे घिरौला, खुर्सानी फल्थे । भक्तपुरमा किसानै–किसान बस्थे । त्यतिवेलाका किसानले शिक्षादीक्षा पाउँदैनथे । खेतीपाती गर्थे । किसानले खेती गरेको धेरै हिस्सा जग्गाधनीलाई बुझाउनुपथ्र्यो । किसानले थोरै मात्र पाउँथे । समाजमा शोषण थियो । शोषणमुक्त समाज बनाउँदै जाने क्रममा यस्तो अवस्थामा सुधार भएको छ । अब मुख्यबाली मात्र अधियाँ गर्ने भएको छ । त्यतिवेलै भक्तपुरमा धेरै सामग्री पाइन्थे । देशकै राजधानी भएकाले काठमाडौं अझै एन्डभान्स थियो । भक्तपुरका मान्छेहरू न्युरोडमा सामान किन्न कहिलेकाहीँ जान्थे । 

हामी डन्डीबियो खेल्थ्यौँ । ओखर खेल्थ्यौँ । पुरुषले दौरा, सुरुवाल र महिलाले धोतीचोलो लगाउँथे । खास्टो ओड्थे । खुट्टामा अहिलेजस्तो जुत्ता, चप्पल थिएन । त्यो वेला अहिलेजस्तो टिसर्ट, पाइन्ट, कुर्ता, स्कट थिएन । सबैले तानमा बुनेको लुगा लगाउँथ्यौँ । भक्तपुर आत्मनिर्भर थियो । तर, भक्तपुर फोहोर थियो । मान्छेहरूले जथाभावी दिसापिसाब गर्थे । जहाँतहीँ थुक्ने, फोहोर फाल्ने गर्थे । बिस्तारै मानिसहरू काठमाडौंसम्म जानेक्रम बढ्न थाल्यो । विदेश जान थाले । कामको सिलसिलामा विभिन्न ठाउँ पुग्न थाले । अनि भक्तपुरमा राम्रा र नराम्रा दुवै कुरामा वृद्धि हुन थाल्यो ।

भक्तपुरको खौमा बज्रखाल चोकबाट हामी २०४० सालमा सुर्यविनायक सर्यौँ । लामो र साँघुरो गल्ली भएको त्यो ठाउँमा बस्नका लागि अप्ठ्यारो भएपछि हामी सूर्यविनायक सरेका थियौँ । त्यतिवेलासम्म सूर्यविनायकमा फाट्टफुट्ट मात्र घर थियो । मैले धान फल्ने खेतमा घर बनाएँ । त्यसपछि बिस्तारै अरूले पनि घर बनाउन थाले । खेत मासिन थाल्यो । मान्छेले नदी साँघुरो बनाएर घर बनाउन थाले । मान्छेले नदीको छेउमै घर बनाएपछि विभिन्न किसिमका प्राकृतिक विपत्ति निम्तिन थाल्यो । हामीले पहिले खेल्ने खेल हराए । नयाँ पिढीलाई ती खेलबारे जानकारीसमेत छैन । त्यसपछि बिस्तारै भक्तपुरमा विदेशी सामान आयातीत हुन थाल्यो । तानमा कपडा बुन्ने चलन हराउन थाल्यो । सबै बाहिरबाट आएपछि समय लाग्ने, खर्च धेरै लाग्ने काम कसले गर्छ ? देशको आत्मनिर्भर भनेको नारामा होइन, काममा हुनुपर्छ भन्ने कुरा मान्छेले बिर्सिए । सरकार चलाउनेले पनि बिर्सियो । 

अहिलेको भक्तपुर
अहिले नगरपालिकाले फोहोर व्यवस्थापनको काम गरेको छ, सफासुग्घर भएको छ । पर्यटक आउन थालेका छन् । भक्तपुरको सम्पदा, संस्कृति, रहनसहन हेर्नकै लागि लाखौँ पर्यटक आउन थालेका छन् । टिकट बेचेरै नगरपालिकाले करोडौँ आम्दानी गरेको छ । त्यो पैसालाई नगरपालिकाले विकासमा खर्च गरेको छ । अहिले यहाँका स्थानीय तहले फरक–फरक काम गरेर जनताको मन जित्ने काम गरिरहेको छ ।

भक्तपुर नगरपालिकाले त रानी पुखु अर्थात् पोखरी, सिद्धि पुखु, भाज्या पुखु, न पुखु, काल ढचा, टेखा पुखु, भन (भन्दारखाल) पुखु, नाग पुखु, मंगल कुण्ड, देगमना पुखु, लैंको पुखु, मेलुखेल पुखु, कुमारी पुखु, ब्यासी–१ पुखु, ब्यासी–२ पुखुको संरक्षण गरेर पहिलाकै अवस्थामा फर्काइएको छ । यसैगरी, भोलाछें पुखु, क्वाठन्डौ पुखु, अंचा पुखु, नाग पुखु, बेखाल पुखु, याता पुखु, कमल पुखु, लामगाल पुखु, खंचा पुखु, चोर्चा पुखु, संला गणेश पुखु, जेला पुखु, गोंग पुखु, कमलपोखरी पुखु, च्याम्हासिंह पुखुको पनि संरक्षण गरेर पहिलाकै अवस्थामा ल्याएको छ । यसलाई निरन्तरता दिनुपर्यो ।

समयसापेक्ष शिक्षाको विकास भक्तपुरमा भइरहेको छ । नगरपालिकाले नै ख्वप कलेज, शारदा क्याम्पस, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप कलेज अफ इन्जिनियरिङलगायतको उत्कृष्ट शिक्षा प्रदान गर्ने काम गरेको छ । सरकारले ख्वप विश्वविद्यालय विधेयक स्वीकृत गरेमा अर्को फड्को भक्तपुरले मार्नेछ । त्योबाहेक अन्य धेरै काम यहाँका चारवटै स्थानीय तहले गर्ने प्रयास गरिरहेका छन् । 

भक्तपुरभन्दा नेपाल फरक छैन । नेपाल भक्तपुरभन्दा फरक छैन । अरूको तुलनामा भक्तपुर सुन्दर बनेको छ । कला–संस्कृतिलाई जोगाउने काम गरेको छ । नगरपालिकाले नाचगानको प्रवर्द्धन गरिरहेको छ । ‘नाचगानको राजधानी: भक्तपुर’ भनेर जगदीशशमशेर राणाले लेखेका थिए । त्यस्ता नाचगान गर्नेलाई नगरपालिकाले सम्मान गरिरहेको छ । भजन गाउने, बाजा बजाउनेलाई सम्मान र संरक्षण गरिरहेको छ । क्रमश: सुधार भइरहेको छ । तर, अझै गफ धेरै काम थोरै भइरहेको छ ।

पहिले यहाँ खेती हुन्थ्यो । हराभरा हुन्थ्यो । अहिले धान, गहुँ सबै आयात हुन्छ । केराउ, भटमाससमेत बाहिरबाट आउँछन् । चामल, पिठो, गहुँ, तेल सबै विदेशबाट झिकाएर देश कसरी समृद्ध हुन्छ ? नारा बुलन्द छ, तर कामचाहिँ सोचेजस्तो भएको छैन । 

भक्तपुर नगरपालिकाले राम्रो काम गरिरहेको छ । भक्तपुरसँगै अरू तीन नगरपालिकाले पनि राम्रो काम गरिरहेका छन् । अरूले राम्रो कामको देखासिखी गरेर भए पनि सिक्नुपर्छ । अरूको हेरेर, देखेर, आफ्नो क्षेत्र सुहाउँदो भएमा त्यस्तै गर्नुपर्छ । यसका लागि हामीजस्ता पाका मान्छेको कुरा सुने पनि हुन्छ । त्यसैले हामीजस्ता मान्छेलाई सोधपुछ गरेर काम पनि गर्नुपर्छ । तर, त्यस्तो प्रचलन कम हुँदै गएको छ । विकास निर्माणका काम हुन्छ । विभिन्न गतिविधि नगरपालिकाभित्र हुन्छ । तर, त्यसमा हामीजस्ता मान्छेलाई सहभागी गराइँदैन ।

संस्कृति भएन भने केही पनि बाँकी रहन्न । त्यसैले मैले सक्दा टोपी, लवेदा सुरुवाल, कोट लगाएरै विभिन्न कार्यक्रम जान्थे । त्यतिवेला मलाई धेरैले तपार्इं मात्र यस्तो किन लगाउनुहुन्छ ? भनेर प्रश्न गर्थे । संस्कृतिविना हामी रहन्नौँ, त्यसैले मैले त्यस्तो पोसाक प्रयोग गर्थें । पहिले बाटोमा ढुंगा बिछ्याएको थियो । गाडी नचल्ने वेलामा त्यो बाटो बिग्रिँदैनथ्यो । तर, अहिले पहिलेको जस्तो पातालो ढुंगा बिछ्याएर हुँदैन । समयअनुसार बाक्लो ढुंगा राखेमा राम्रो हुन्छ । त्यस्ता ढुंगा र माटोको प्रयोगले पानी परेको वेलामा ढुंगाको कापबाट पानी पस्छ । पानीको अभाव कम हुन्छ । 

यस्तो होस् भक्तपुर
भक्तपुर, भक्तपुरजस्तै रहन लिच्छविकालमा बनेको चाँगुनारायणको मन्दिर जस्ताको तस्तै होस् । नेपालको लिखित इतिहास चाँगुनारायणमा रहेको पाँचौँ शताब्दीको लिच्छविकालीन शिलालेखबाट प्रारम्भ भएको थियो । यहाँको सबैभन्दा पुरानो दत्तात्रयको मन्दिर १५औँ शताब्दीमा राजा यक्ष मल्लको पालामा बनेको थियो । मल्लकालीन दत्तात्रयको मन्दिर यथावत् होस् । भक्तपुर दरबार क्षेत्र यस्तै रहोस् । बाराही, महाकाली मन्दिर उस्तै होस् । फसि देग, रामेश्वर मन्दिर, वत्सला मन्दिर, नारायण मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, विश्वरूपा मन्दिर, सिद्धिगणेश मन्दिर, श्वेतभैरव मन्दिर, सिज महादेव, देगइना मन्दिर र ब्रह्मायणी मन्दिर पहिलेकै अवस्थामा रहोस् । सूर्यविनायक (गणेश) मन्दिर लिच्छविकालमा शिखर शैलीमा निर्माण भएको पाइन्छ । यो मन्दिर पनि त्यतिवेलैको जस्तो होस् ।

म केटाकेटी हुँदा भएका पोखरी मासेर स्कुल बनाइएको छ, पोखरी नै रहनुपथ्र्यो । त्यहाँ माछा पालेर आम्दानी गर्न सकिन्थ्यो । नगरपालिकाले पोखरीको संरक्षणको काम त गरिरहेको छ । त्यसलाई निरन्तरता दिएर अगाडि बढाओस् । पोखरी सबै ब्युँताउनुपर्यो । पोखरीको पानी तल जान्छ । अहिले त्यो काम गर्दै गएका छन् । सल्लाघारीमा रानीपोखरी थियो । भक्तपुरको सल्लाघारीमा भएको रानीपोखरी (न्हु:पुखु) १६८७ सालमा तत्कालीन भक्तपुरका राजा जगज्योति मल्लले रानी राजलक्ष्मीको सम्झनामा बनाउन लगाएको थियो । त्यसको करिब ४० वर्षपछि मात्र तत्कालीन राजा प्रताप मल्लले काठमाडौंमा रानीपोखरी बनाउन लगाएका थिए । सेनाले हडपेको त्यो पोखरी नगरपालिकाले फिर्ता ल्याएर पहिलेकै जस्तो बनाएको छ । यस्तो कामले निरन्तरता पाओस् ।

भक्तपुर नगरपालिकालाई भनिरहेको छु, हरियो भक्तपुर भनेर नारा लगाएर मात्र हुँदैन । त्यहाँ हरियो घर बनाएर हुन्छ ? जमिन हरियो बनाउँनुपर्यो । धानखेती, गहुँखेती हुनुपर्यो । रुख रोप्नुपर्यो । अनि पो हरियो हुन्छ । रुख काट्ने, खेत मास्ने, तरकारी भारतबाट ल्याउने अनि हरियोको नाम मात्र जप्ने यसरी हुँदैन । भारतको विरोध गरेर के फाइदा, विरोध त कामले गर्नुपर्यो नी । आत्मनिर्भर हुनुपर्यो । यति भयो भने भक्तपुर, भक्तपुरजस्तै हुनेछ ।

भक्तपुर काष्ठकला, थांका र पौवाचित्र, नेपाली कागजका सामग्री, पुतली, ऊनको सामग्री, धातुकला, गहना, प्रस्तरकलालगायत प्रमुख हस्तकलाका उत्पादनको हब हो । हस्तकलाका सामग्री उत्पादन गर्ने काम धेरै हुनुपर्यो । भक्तपुरमा पहिले साहित्यिक गतिविधि धेरै हुन्थे । घरको कोठा, छत, आँगन, चोकमै धेरै कार्यक्रम हुन्थे । मदनमणि दीक्षित, दुर्गालाल श्रेष्ठ, सत्यमोहन जोशीजस्ता व्यक्तिहरू काठमाडौं, ललितपुरबाट आएर छलफल, लोकार्पण, समारोह हुन्थ्यो । अहिले यस्ता गतिविधि बढ्न थालेका छन् । यस्ता गतिविधिले अझै निरन्तरता पाउनुपर्यो । 

तेजेश्वरबाबु ग्वंग: संकृतिविद् हुन्

See More On

सुझावित समाचार