उच्च अदालत तुलसीपुरले आइतबारदेखि सेवा सुरु गर्ने

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम सुरु गर्ने भएको छ। अदालतका रजिस्ट्रार यमप्रसाद बाँस्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाको निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरू दर्ता गर्ने र सुनुवाइ गर्ने कार्य सुरु हुनेछ। यसअघि बन्दी प्रत्यक्षीकरणको निवेदन लिने मात्रै कार्य भएको थियो। 

साथै, २४ भदौसम्मा चालू अवस्थामा रहेका मुद्दाहरूको कामकारबाही नियमित गर्ने र नयाँ पुनरावेदन-पत्र दर्ता गरी सेवा प्रवाहलाई नियमित गर्ने सम्बन्धमा अर्को सूचना प्रकाशन गरेर मात्रै जानकारी दिइने रजिस्ट्रार बाँस्कोटाले बताए।

उनका अनुसार म्याद, हदम्याद र तारेख नगुज्रिने तथा नियमित रूपमा सेवा प्रवाह गर्नेसम्बन्धी अर्को सूचना प्रकाशन गरेर जानकारी दिइनेछ। जेन-जीको आन्दोलनका क्रममा अदालतमा भएको आगजनीले नियमित सेवा अगाडि बढ्न सकेको थिएन। 

सुझावित समाचार