काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। समितिले बचतकर्ताको रकम फिर्ता भुक्तानी प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन अनलाइन प्रणालीमार्फत मागदाबीको विवरण संकलन तथा अद्यावधिक गरिरहेको जनाएको छ।
समितिद्वारा जारी सूचनाअनुसार अनलाइन प्रणालीमार्फत पेस गरिएका मागदाबीबापतको रकम राष्ट्रिय भुक्तानी गेटवे (नेसनल पेमेन्ट गेटवे) मार्फत सम्बन्धित बचतकर्ताको बैंक खातामा सिधै भुक्तानी गर्ने व्यवस्था गरिएको छ।
बचतकर्ताले आफ्नो मागदाबीमा उल्लेखित विवरणमा कुनै त्रुटि भएमा सच्याउन वा आवश्यक विवरण अद्यावधिक गर्न सक्नेछन्। त्यसका लागि प्रत्येक मागदाबीमा एउटा मात्र मोबाइल नम्बर प्रयोग गर्नुपर्नेछ। उक्त नम्बरमा प्राप्त हुने एकपटक प्रयोग गर्न मिल्ने पासवर्ड (ओटिपी) का आधारमा विवरण संशोधन गर्न सकिने व्यवस्था गरिएको समितिले जनाएको छ।
समितिका अनुसार मागदाबीमा नाम गलत भएको, मोबाइल नम्बर पुष्टि नभएको, परिचय तथा बचतको प्रमाण नपुगेको वा एउटै बचतकर्ताले एकभन्दा बढी मागदाबी पेस गरेको अवस्थामा आवश्यक प्रमाणसहित विवरण अद्यावधिक गर्नुपर्नेछ।
त्यस्तै, एउटै मोबाइल नम्बर प्रयोग गरी एकभन्दा बढी मागदाबी पेस गरिएको भए प्रत्येक मागदाबीका लागि छुट्टाछुट्टै मोबाइल नम्बर कायम गर्नुपर्नेछ। यसका लागि आवश्यक विवरण खुलाएर समितिको इमेलमार्फत निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
समितिले मागदाबीको विवरण अद्यावधिक तथा मोबाइल नम्बर संशोधनसम्बन्धी व्यवस्था पहिलो पटकका लागि २०८३ साल कात्तिक मसान्तसम्म लागू हुने जनाएको छ। समितिले रकम फिर्ता भुक्तानी प्रक्रियालाई सहज बनाउन सम्बन्धित सबै बचतकर्तालाई तोकिएको समयसीमाभित्र आफ्नो मागदाबीको विवरण जाँच गरी आवश्यक संशोधन तथा अद्यावधिक गर्न आग्रह गरेको छ।