दसैँका वेला हुन सक्ने आपराधिक घटना रोक्न नेपाल प्रहरीले चाडबाडलक्षित सुरक्षा योजना लागू गर्दै देशभर निगरानी बढाएको छ । प्रहरीले चाडबाडको योजना २१ असोजदेखि लागू गरिसकेको छ । जसअन्तर्गत देशभर चार सय आठ स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ । सीमावर्ती क्षेत्रका १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार यसपटक प्रविधिलाई बढी प्रयोग गरिएको छ । देशभर ५२ वटाभन्दा बढी ड्रोन उडाउन थालिएको छ । प्रहरी र अन्य साझेदारी निकायबाट जडान गरिएका दुई हजार पाँच सयभन्दा बढी स्थानका सिसिटिभी प्रहरीले निगरानी गरिरहेको छ । यात्राको वेला महिला, बालबालिका, वृद्धवृद्धाका लागि सुरक्षा प्राथमिकतामा राखिएको काफ्लेले बताए । ‘दसैँको वेला यसपटक प्रविधिलाई बढी प्रयोग गरेर सुरक्षा दिँदै छौँ, चोकचोकमा सिसिटिभी छन्, ठाउँठाउँमा ड्रोन उडाइरहेका छौँ, डिजिटल प्लाटफर्मबाट सचेतना फैलाइरहेका छौँ, साइबर ब्युरोले साइबरका घटना निगरानी गरिरहेको छ,’ उनले भने, ‘दसैँ–तिहारका वेला घर छाडेर जानेहरूको सामान चोरी हुने क्रम बढी हुन्छ, त्यसैले घर छाड्नुअघि तालाचाबी लगाउन बहुमूल्य गरगहना नराख्न अनुरोध गरिरहेका छौँ, सोसल मिडियाबाट सचेतना फैलाइरहेका छौँ ।’ उनका अनुसार विगतभन्दा यसपटक बडी वन क्यामेरादेखि सूचना प्रविधिमा आधारित चेकिङ, दुर्घटना रोक्न चालकको लाइसेन्स चेक, सवारीसाधनको प्रदूषण जाँचसमेत गरिनेछ ।
त्यस्तै, चाडबाडको समयमा हुन सक्ने, लुटपाट, ठगी, चोरी, हत्या हिंसाका घटना रोक्न नेपाल प्रहरीले प्रविधि प्रयोग र प्रहरी परिचालनलाई प्राथमिकतामा राखेको छ । सपिङ सेन्टर, खुला तथा हाटबजार, बसपार्क, होटेल रेस्टुरेन्ट, भिडभाड हुने चोक, भित्री गल्ली, यात्रु बाहिरिने नाका, बैंक तथा वित्तीय संस्थालगायतमा सुरक्षा बढाएको छ । सुरक्षा योजना लागू गर्दै प्रहरी कार्यालयहरूले नियमितभन्दा पृथक् रूपमा ड्युटी थालेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दसैँ–तिहार मनाउन आममानिसहरू व्यस्त भइरहेका वेला घरमा हुन सक्ने चोरी, डकैती, लुटपाटजन्य घटना रोक्न प्रहरीले निगरानी गर्नेछ । कतिपय स्थानमा ड्रोनसमेत उडाउन थालिएको छ । ड्रोन नपुग्ने अवस्थामा भौतिक रूपमा प्रहरीसमेत परिचालन गरी निगरानी बढाइएको छ । प्रहरी कार्यालयका फोन उठाउन र त्यसको रेस्पोन्स गर्न जिल्ला प्रहरी कार्यालयहरूले छुट्टै टोली परिचालन गरेका छन् । २४सै घण्टा प्रहरीको फोन उठ्ने र कुनै घटना भइहाले तत्काल प्रहरी पुग्न सक्ने गरी अलर्टमा राखिएको प्रहरीले जनाएको छ ।
प्रवक्ता काफ्लेका अनुसार चाडबाडका वेला लट्री परेको, अफर रहेको भन्दै ठग्नेलाई कारबाही गर्न साइबर स्क्याम्स सेन्टर स्थापना गरिँदै छ । यसबाहेक प्रहरीले सडक सञ्जालको अवस्थाबारे पनि यात्रुहरूलाई जानकारी दिँदै आइरहेको छ । चाडबाडका वेला साम्प्रदायिक र धार्मिक दंगा हुन नदिन मूर्ति सेलाउने र पूजाआजामा समेत प्रहरीले सहजीकरण गर्नेछ ।
आइजिपीले गरे सातै प्रदेशका प्रहरी प्रमुखसँग भिडियो कन्फ्रेन्स
अन्य समयमा भन्दा चाडवाडका वेला आपराधिक घटना बढ्ने भएकाले प्रहरी प्रधान कार्यालयले सातवटै प्रहरी प्रदेश कार्यालयका प्रमुखहरूलाई शनिबार भिडियो कन्फरेन्स गर्दै सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडबाडलक्षित सुरक्षा चुस्त बनाउने सम्बन्धमा सातै प्रदेशका प्रदेशका प्रहरी कार्यालयका प्रमुखहरूसँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् । चाडबाडका वेला ठगी तथा दुर्व्यवहारका घटना भएमा अनलाइनबाट प्रहरीलाई उजुरी दिन सकिनेछ । त्यस्तै, १०० मा फोन गरेर पनि उजुरी टिपाउन सकिनेछ । ‘चाडबाडको वेला मानिसहरूले छरिएका हुन्छन्, टाढाटाढा पुग्ने अवस्था हुन्छ, त्यसैले अनलाइनबाट पनि उजुरी दिन सकिन्छ वा १०० मा फोन गरेर पनि सूचना दिन सकिनेछ,’ प्रवक्ता काफ्लेले भने, ‘प्रहरीले तुरुन्तै कारबाही गर्छ ।’
क्षमताभन्दा बढी र छतमा यात्रु राख्न नपाइने
प्रहरीले दसैँका वेला कोचाकोच यात्रु चढाउने, बढी भाडा असुल्ने र यात्रुलाई हैरानी दिनेलाई कारबाही गर्ने भएको छ । प्रवक्ता काफ्लेका अनुसार छतमा यात्रु राख्न र सिट क्षमताभन्दा बढी राख्न पनि पाइँदैन । ट्राफिक प्रहरीले चालकलाई जवाफदेही बनाउन उनीहरूको कागजात, सवारीसाधनको अवस्था जाँच र यातायातमा निगरानीसमेत थालेको छ । त्यस्तै, चाडबाडका वेला पटाका भित्र्याउन कडाइ गर्न सम्बन्धित नाकाकै प्रहरीलाई जिम्मेवार बनाइएको छ ।
दसैँमा ललितपुर प्रहरी २३ प्रकारका ड्युटीमा खटिने
जिल्ला प्रहरीपरिसर ललितपुरले दसैँलगायत चाडबाडलक्षित सुरक्षा योजना तय गरिसकेको छ । परिसरका एसपी गौतम मिश्रका अनुसार जिल्लामा २३ प्रकारका ड्युटीमा एक हजार ३५१ जना प्रहरी खटिँदै छन् । जसमा विभिन्न चेकजाँच टोली, सुपरिवेक्षण टोली, मोबाइल गस्ती टोली, स्ट्र्याकिङ टोली, डग परिचालन टोली, संयुक्त चेकप्वाइन्ट सञ्चालन टोली, २४सै घन्टे ड्युटी टोली, आकस्मिक चेकजाँच टोली, सादा पोसाक र सेफ्टी पोसाकसहितको टोली, होटेल र लजको चेकजाँच गर्ने टोली, होहल्ला तथा मानिसको भिड बढी हुने स्थानमा खटिने टोली, हेल्प डेस्कमा खटिने टोली, सिटिक्यामेरा परिचालन र मनिटरिङ टोली, शंकास्पद मानिसलाई जाँच गर्ने टोली, फोटो र भिडियो बनाउने टोली, ड्रोनबाट निगरानी राख्ने टोलीलगायत गरी २३ प्रकारका टोलीले चाडबाडमा सुरक्षा दिनेछन् ।
एयरपोर्टदेखि शंकास्पद क्षेत्रमा ३७ हेल्प डेस्क
एयरपोर्टदेखि विभिन्न शंकास्पद तथा यात्रुहरूको भिडभाड हुने स्थानहरूमा ३७ वटा हेल्प डेस्क राखेको छ । चाडबाडलाई लक्षित गर्दै नेपाल प्रहरीले उपत्यकाको छुट्टै सुरक्षा योजना बनाएको छ । उपत्यकामा आठ हजारभन्दा बढी प्रहरी खटाइएको छ । जिल्ला प्रहरीपरिसर ललितपुरले २३ प्रकारका ड्युटी टोली परिचालन गरेको छ । काठमाडौंले पनि चाडबाडलक्षित सयुंक्त गस्ती टोलीदेखि ड्रोनबाट सुरक्षा दिने योजनालाई प्राथमिकतामा राखेको छ । बसपार्कहरूमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । काठमाडौंबाट बाहिरिने यात्रुहरूको संख्यासमेत अत्यधिक भएकाले बसपार्क तथा नाकाहरूको चेकजाँच र सुरक्षालाई केन्द्रमा राखिएको छ । भक्तपुरले ड्रोन र भित्री गल्लीहरूमा समेत प्रहरी परिचालन र बाहिरिने नाकाहरूमा हेल्प डेस्क स्थापना गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार दसैँ नजिकिएसँगै अधिकांश स्कुल, कलेज र अदालत बिदा भइसकेको छ । सडक असहज भइरहे पनि कतिपय यात्रुहरू गाउँ फर्किन थालिसकेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका नाकाहरूका उपत्यका छाड्नेको भिडसमेत बढ्न थालेपछि प्रहरीले बसपार्कमा माइकिङ गर्ने, सचेत गराउने र यात्रुहरूसँग चर्को भाडा नअसुल्न यातायात व्यवसायीलाई निर्देशनसमेत दिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता गोविन्द थपलियाले चाडबाडलक्षित सुरक्षा योजना २१ असोजदेखि नै लागू भएको र यसलाई घटस्थापनादेखि थप कडा र चुस्त पारिने बताए । ‘चाडबाडमा उपत्यकाको सुरक्षा योजना प्रमुख विषय हुन्छ, दसैँका वेला बैंकमा पैसा लिकाल्ने, सामान किन्न जाने, टिकट काट्ने, अनलाइन सपिङ गर्नेहरूको संख्या अत्यधिक हुन्छ, त्यसैले उपत्यकाभित्र सुरक्षा योजना चुस्त पारिसकेका छौँ,’ उनले भने, ‘विशेषतः चोरी, लुटपाट, ठगी, जुवातासको निगरानी गर्न सादा पोसाकमा प्रहरी परिचालन भएको छ, तीनवटै जिल्लामा आठ हजारभन्दा बढी प्रहरी दसैँलक्षित सुरक्षा योजनामा खटिएको अवस्था छ ।’
पोखरेलका अनुसार यातायात व्यवसायीसँग समन्वय र सहजीकरण गरी आवतजावत सहज पारिएको छ । भिड हुने उपत्यका अधिकांश चोकहरूमा सिसिटिभी जडान र निगरानी बढाइएको छ । तीन जिल्लामा ३७ वटा हेल्प डेस्क, ३० वटाभन्दा ड्रोन, पाँच सयभन्दा बढी सिसिटिभी, तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।