काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बुढीगण्डकी र भोटेकोशी नदीमा देखिएको भयावह अवस्थाबाट पाठ सिक्दै जोखिमयुक्त बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न आग्रह गरेका छन्।
शाहीले सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत खोलाकिनारका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल सुरु गर्नुपर्ने बताएका हुन्।
नेपाल हिमनदी तथा हिमताल विस्फोटबाट हुने विपतकाे उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले सम्भावित जोखिम न्यूनीकरणका लागि समयमै तयारी गर्नुपर्नेमा जोड दिएका छन्।
‘विपत् आएपछि उद्धार होइन, विपत् आउनुअघि नै तयारी गरौँ,’ शाहीले भनेका छन्, ‘सबै सजग बनौँ।’
बुढीगण्डकी र भोटेकोशीमा देखिएको बाढीको अवस्थाले सम्भावित विपत् व्यवस्थापनमा गम्भीर हुनुपर्ने सन्देश दिएको उल्लेख गर्दै उनले समयमै सतर्कता नअपनाए ठुलो क्षति हुन सक्ने चेतावनी दिएका छन्।
उनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले पूर्वतयारी, जोखिमयुक्त बस्तीको पहिचान तथा सुरक्षित स्थानमा स्थानान्तरणको कामलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएका छन्।