राप्रपा महाधिवेशन प्रतिनिधि कात्तिकमा चयन हुने

पाँच प्रदेश र ७४ जिल्लाका अधिवेशन सम्पन्न

आइतबार, २५ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं/राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनका लागि कात्तिक अन्तिम सातासम्म महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने भएको छ । पार्टी अध्यक्षदेखि सबै नेता प्रदेश क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुपर्ने राप्रपाको प्रावधान छ । कात्तिकभरि करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् र उनीहरूले केन्द्रीय महाधिवेशनबाट नेतृत्व चयन गर्नेछन् ।

राप्रपाको केन्द्रीय महाधिवेशन २६ देखि २८ मंसिरसम्म काठमाडौंमा हुने तय भइसकेको छ । यसका लागि राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल समारोह समिति गठन गरिसकेको छ । ‘हालसम्म पाँच प्रदेश (मधेश र बागमतीबाहेक) र ७४ जिल्ला अधिवेशन (रसुवा, नुवाकोट र धादिङबाहेक) सम्पन्न भइसकेको छ,’ राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, ‘अदालतको आदेशका कारण बागमती र मधेशमा प्रादेशिक अधिवेशन हुन सकेको छैन । भदौ १० को विनाशकारी बाढीले गर्दा नुवाकोट, रसुवा र धादिङमा जिल्ला अधिवेशन भएन । शनिबार धादिङ जिल्ला अधिवेशन सुरु भएको छ र बाँकी दुई जिल्लाको पनि चाँडै नै हुन्छ ।’

राप्रपाले पार्टीको सक्रिय सदस्ताका लागि असोजसम्म फाराम भर्ने मिति तय गरेको छ । ‘सक्रिय सदस्यहरूबाट राप्रपाले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछ । समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी प्रतिनिधि चयन हुनेछन्,’ श्रेष्ठले भने, ‘हरेक प्रादेशिक क्षेत्रबाट कम्तीमा एकजना ४० वर्षमुनिको प्रतिनिधित्व सुनिश्चित हुने गरी नौजना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । पार्टी अध्यक्षदेखि सबै नेता निर्वाचित हुनुपर्नेछ । मतदाता नामावली भएको क्षेत्रबाट निर्वाचित भएर आउनुपर्नेछ ।’

यद्यपि प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रादेशिक निर्वाचन क्षेत्र, गाउँ र नगरपालिका एवं महानगरपालिका अध्यक्षहरू पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था राप्रपाले गरेको छ । ‘बाँकी नेताहरू सबै पार्टीको स्थापित नियम पद्धतिबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्नेछ,’ प्रवक्ता श्रेष्ठले भने । कात्तिक आधासम्म मुद्दा मामिला नटुंगिएमा पनि प्रादेशिक क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुन समस्या नहुने एक नेताले बताए । राप्रपाले २१ असोजमा पाँचै प्रदेशमा अधिवेशन सम्पन्न गरेको थियो ।

सुझावित समाचार